हेमा भट्ट २६ बैशाख २०८२
कञ्चनपुर- सुदूरपश्चिम प्रदेशको पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा फारवेष्टर्न टुरिज्म मार्ट सञ्चालनमा आएको छ। नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको तीन दिने पर्यटन महोत्सवले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूलाई एकै थलोमा ल्याएको छ।
महोत्सवमा नेपालका विविध पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनसँगै भारतका प्रमुख सहरहरू—दिल्ली, उत्तर प्रदेश, उत्तराखण्डलगायतका स्थानबाट आएका पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया गरिनेछ। आयोजकले कार्यक्रममार्फत दुवै देशबीच पर्यटन सहकार्य बढाउँदै नेपालमा भारतीय पर्यटक भित्र्याउने रणनीति अघि सारिएको जनाएको छ।
उद्घाटन समारोह
होटल ओपेरा, महेन्द्रनगरमा बिहान ११ बजे हुने उद्घाटन समारोहमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डे प्रमुख अतिथिको रूपमा सहभागी हुने छन्। भीमदत्त नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेश सांसदहरू, स्थानीय जनप्रतिनिधिहरू तथा पर्यटन क्षेत्रका विज्ञहरूको पनि उपस्थिति रहनेछ।
पर्यटन प्रवर्द्धनमा B2B संवाद
महोत्सवको पहिलो दिन B2B (व्यवसायी–व्यवसायी) छलफलका माध्यमबाट आपसी अनुभव आदान–प्रदान गरिनेछ भने दोस्रो दिन महाकाली र कर्णाली नदीमा ट्याफ्टिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र टीकापुरको अवलोकन भ्रमण गराइने कार्यक्रम तय गरिएको छ। अन्तिम दिन समिक्षा सत्रसहित महोत्सव समापन गरिनेछ।
प्याकेज योजना र समन्वय
आयोजक समिति संयोजक एवम् भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीका अनुसार भारतका पर्यटकलाई आकर्षित गर्ने गरी विभिन्न प्याकेज योजना प्रस्तुत गरिने छ। उनका अनुसार, “पर्यटन प्रवर्द्धनका लागि हामीले भारतीय व्यवसायीसँग मिलेर प्याकेज बनाउने तयारी गरेका छौं।”
सञ्चार र आतिथ्यको भूमिका
नेपाल पत्रकार महासंघ कञ्चनपुर अध्यक्ष सुरेशसिंह धामीले पर्यटन विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। स्थानीय होटल व्यवसायी जगदीशचन्द्र भट्टले पनि कार्यक्रम सफल पार्न आतिथ्य सत्कारमा कुनै कमी नराखिने बताए।
स्थानीयको अपेक्षा
सुदूरपश्चिमको पर्यटनमाथि लामो समयदेखि कलम चलाइरहेका वरिष्ठ पत्रकार चित्राङ्ग थापाले यस्ता कार्यक्रमले सुदूरपश्चिमको पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिने बताए।
महोत्सवले सुदूरपश्चिम प्रदेश मात्र होइन, सम्पूर्ण नेपालकै पर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यो मार्ट भविष्यमा नियमित हुने गरी विस्तारित ढंगमा आयोजना गर्ने योजनासमेत बनाइएको छ।