स्थानीयमा लोकप्रिय बन्दै ब्याडमिन्टन

खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिकभन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिनुहुन्छ । टीकापुर भएको दिन उहाँ बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउनुहुन्छ ।

“मैले फुटबल, कबडीलगायतका खेलमा पनि मेरो रुचि हो । उमेरसँगै त्यस्ता सबै रुचि हराउँदै जाँदा रहेछन्”, नगर प्रमुख थारुले भन्नुभयो, “व्यावसायिक खेलभन्दा अहिले ब्याडमिन्टन मेरो शारीरिक व्यायामका लागि निकै उपयोगी बनेको छ ।” टीकापुरकै तेजबहादुर थापाको बिहानको समय ब्याडमिन्टन खेलेरै बित्छ । दिनभर व्यापार व्यस्त हुने थापा आठ वर्षदेखि ब्याडमिन्टन खेल्दै आउनुभएको छ ।

स्थानीय तथा क्षेत्रीयस्तरका प्रतियोगितामा समेत सहभागिता जनाउनुभएका थापा पनि शारीरिक व्यायामकै लागि ब्याडमिन्टन खेल्न थालिएको बताउनुहुन्छ । “दिनभर व्यापारमा व्यस्त, बाहिर जाँदा पनि गाडीको सवार । खानपिनमा ध्यान नदिँदा अस्वस्थता बढ्दै गएको महसुस हुन थालेपछि साथीको सङ्गतमा लागेर ब्याडमिन्टन खेल्न थालियो”, थापाले भन्नुभयो, “अहिले सबैभन्दा बढी खेलिने खेल नै ब्याडमिन्टन भएको छ । उचित मैदानको अभावमा भने खेलमै भविष्य देखेका युवालाई समस्या पारेको छ ।” ब्याडमिन्टन इनडोर खेल भएका कारण टीकापुर क्षेत्रमा कभर्डहल अझै निर्माण हुन सकेको छैन । उसो त स्थानीय सरकारले ब्याडमिन्टन प्रतियोगिताका लागि स्थानीय युवालाई सहयोगसमेत गर्दै आएको छ ।

विशेषगरी जागिरे तथा दिनभर व्यापारमा व्यस्त हुनेका लागि ब्याडमिन्टन निकै उपयोगी बनेको छ । ठूलो स्पेस नचाहिने, दुई जना भए खेल्न सकिने, कुनै टिम बनाइराख्नु नपर्ने भएकै कारण ब्याडमिन्टन लोकप्रिय बनेको स्थानीय रामबहादुर साउँद बताउनुहुन्छ । “हामीले कार्यालयको परिसर मै ब्याडमिन्टन कोर्ड बनाएका छौँ । एक जना आएन भनेर खेल स्थगित हुने अवस्था हुँदैन”, साउदले भन्नुभयो, “दुई जना भए खेल हुन्छ । बिहान शारीरिक व्यायाम भएपछि दिनभर काम गर्ने जागर पनि आउँछ ।”

खेलका क्षेत्रमा सहयोग भए पनि संरचना निर्माणका लागि बजेट विनियोजन हुन सकेको छैन । गत आर्थिक वर्षम निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले कभर्डहल निर्माणका लागि गरेको शिलान्यासले निरन्तरता पाउन सकेन । चालू आर्थिक वर्षमा पनि कभर्डहलका लागि बजेट विनियोजन नभएको नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी वडले बताउनुभयो । टीकापुर नगर विकास समितिले निर्माण गर्नेगरी कभर्डहलको शिलान्यास भएको थियो ।

टीकापुरमा खेल मैदानको अभाव नभए पनि लगानीको अभावका कारण कैयौँ खेलकुदमा भविष्य देखेका युवा खेलकुदबाट विस्थापित हुनुपरेको खेल प्रशिक्षक अर्जुन ठकुल्ला बताउनुहुन्छ ।
“खेलाडीका लागि उचित वातावरण नै छैन । खेल्ने आवश्यक सामग्रीको अभाव, प्रशिक्षणका लागि मैदानको अभाव, प्रतियोगितामा सहभागी हुन जाँदा आर्थिकको अभाव”, ठकुल्लाले भन्नुभयो, “अभावका बाबजुद पनि अहिले ब्याडमिन्टन खेलमा केही युवाले आशालाग्दो प्रस्तुति स्थानीयस्तरका प्रतियोगितामा देखाएका छन् । तिनको संरक्षण हुनसके टीकापुरका लागि त्यसले राम्रो परिणाम दिन सक्छन् ।”

नगर प्रमुख थारुले खेलकुद क्षेत्रको संरचनागत विकासका लागि नगरपालिका स्रोत जुटाउनतर्फ लागेको बताउनुभएको छ । उहाँले नगरपालिकाको स्रोतले खेलकुदका लागि चाहिने दीर्घकालीन योजनालाई पूरा गर्न नसक्ने बताउँदै त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । “नगरपालिकामा खेलकुदका लागि भनेर २२ बिघा जग्गा छ । त्यहाँ अल्पकालीन संरचना बनाएर काम छैन । दीर्घकालीन योजनाका लागि सङ्घ र प्रदेशसँग समन्वय भइरहेको छ”, नगर प्रमुख थारुले भन्नुभयो, “अबको पाँच वर्षमा टीकापुरले खेलकुदका क्षेत्रमा गति लिन्छ । खेलकुदका गतिविधिदेखि खेलाडीको भविष्यलाई सुनिश्चित गर्न नगरपालिकाले काम गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply