सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड

बाँकेको डुडुवा गाउँपालिकास्थित सिद्धिविनायक उद्यानमा वनभोज जानेको भीड लाग्ने गरेको छ । डुडुवा–५ नानापुरमा रहेको सो उद्यानमा अहिले दैनिकजसो विभिन्न सङ्घ संस्थामा आवद्ध र सर्वसाधारण वनभोजमा जाने गरेका छन् । लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले वनभोजसँगै नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाट समेत स्थानीय उद्यानमा घुम्न आउने गरेका बताउनुभयो । उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकयीस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ विभिन्न काम भइरहेको छ ।

डुडुवा–५ नानापुरमा रहेको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । नेपालगञ्ज विमानस्थलदेखि करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवा खोला तरेसँगै दक्षिण तर्फको बाटोमा पर्ने उद्यान परिसरमा दुई कोठे शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एउटा सभा भवन एउटा बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकका पूर्व अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो ।

नेपालगञ्जदेखि नजिकै प्राकृतिक सौन्दर्य रहेको सो उद्यानमा कार्यक्रम तथा वनभोज गर्दा रमाइलो हुने गरेको होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले बताउनुभयो । डुडुवा गाउँपालिका वडा नं ५ ले बाटिका निर्माणमा सहयोग गरेको छ । करिव १ कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माण पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

नेपालगञ्ज विमानस्थलसँग जोडिएकोले पनि यो उद्यानमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षित भएका उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक वजेट विनियोजन हुने गाउँपालिकाले जनाएको छ ।

हाल लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको छ । रु ८ करोड ५० लाखको गुरुयोजना बनाएर काम शुरु भएको उद्यानमा हालसम्म करिव रु ६५ लाख लगानी भइसकेको क्लवका पूर्व अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply