बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

बझाङ, २४ फागुन : खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८÷५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु गर्नुभएका गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्यबाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाउनुभएको हो । व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ला किसान हुनुहुन्छ, नारु गिरी ।

विभिन्न तरकारी, खाद्यबाली र फलफूलको परीक्षण गर्नुभएका उहाँलाई सबैभन्दा बढी सफलता भने बदाम खेतीबाटै मिलेको छ । एक बोरा धान फल्ने गह्रामा तीन बोरा बदाम फल्ने भएपछि उहाँ बदामतर्फ आकर्षित हुनुभएको हो ।

“बाजुराबाट आइसकेपछि तरकारी खेतीतर्फ लागेँ, त्यसबेलामा मेरै बारीमा हरियो साग, गोलभेडा र आलु राम्रो उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सबैले तरकारीखेतीमा लागेपछि हामीले आफूलाई पुग्ने मात्रै तरकारी खेती गरेर बाँकीमा बदाम खेती सुरु ग¥यौँ ।”

गिरीलाई बदाम खेती गर्न धेरै सङ्घर्ष गर्नुपरेन । वर्षौंदेखि बाँझो रहेको जमिनमा बदाम लगाएपछि सुरूकै वर्ष आकर्षक उत्पादन भएको थियो । त्यो बेलाको अवस्था सम्झँदै गिरी भन्नुहुन्छ, “पहिलो वर्ष उत्पादन भएको एक बोरा बदाम त धनगढी पनि पु¥याएको थिएँ ।”

गिरीले हरेक पटक फरक–फरक खेती गर्नुहुन्छ । उहाँले हरेक खेती पटक–पटक राम्रो हुँदैन भन्ने बुझ्नुभएको छ । “एक वर्ष धान रोपे अर्को वर्ष मकै, त्यसपछि आलु, अदुवा, लसुन, प्याज । केही न केही फरक खेती लगाएकै हुन्छु । त्यसले उत्पादन कहिल्यै घट्दैन”, उहाँले भन्नुभयो । हरेक वर्ष फरक–फरक खेती गरेमा बेसा (खाद्यान्न) गर्नु नपर्ने उहाँ बताउँनुहुन्छ ।

गिरीको अनुभवमा ठाउँ परिवर्तन गर्दै र तातो ठाउँमा बदाम धेरै फल्छ । नयाँ बारीमा सुरु गर्दा एक बोरा धान फल्ने ठाउँमा पाँच बोरासम्म उहाँले बदाम फलाउनुभएको छ । बगरको ठाउँ, सडक खनेको माटोमा बदाम राम्रो फल्ने गरेको उहाँको अनुभव छ । “हरेक खेती जति फेरबदल भयो त्यति राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

खप्तडछान्ना गाउँपालिकाका कृषि शाखाका निमित्त प्रमुख गौरीशङ्कर रोकायाले पनि बदामका लागि ठाउँ फेरिनुपर्ने बताउनुहुन्छ । “बदाम बगर क्षेत्र र गर्मीमा राम्रो उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, “ताप बढी भइरहने ठाउँ बदाम खेतीका उपयुक्त मानिन्छ ।” बदाम खेती बढाउनका लागि पालिकाले किसानलाई पनि सल्लाह तथा सुझाव दिनुका साथै अनुदानका कार्यक्रम पनि ल्याएको छ ।

खप्तडछान्ना गाउँपालिकामा व्यावसायिक रूपमा गिरीबाहेक बदामखेती अरू कसैले गरेको छैन । गिरीले पनि आफ्नै बारीमा मात्रै बदाम खेती गरिरहनुभएको छ । “मैले पनि धेरै लगाउन सकेको छैन,” गिरीले भन्नुभयो, “एक त हाम्रोतिर ठाउँ पनि खासै छैन । भएको जमिनमा पनि फरक-फरक खेती गरिएको छ ।”

गिरीले स्थानीय सरकारले पनि बजारका लागि सहयोग गर्ने आश्वासन दिएकाले अर्को वर्षदेखि थप जमिनमा बदाम लगाउने तयारी गरेको बताउनुभयो । कृषि शाखाका निमित्त प्रमुख रोकायाले व्यावसायिक कृषि खेती गर्ने किसानका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामीले यसभन्दा अगाडि पनि सहयोग गर्दै आएका हौँ । यसपटक पनि अनुदानका कार्यक्रम ल्याएका छौँ । किसानले बजारको चिन्ता लिनुपर्दैन”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply