धनगढी, भदौ १८
राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ।
पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भदौ १५ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले सर्वसम्मत रूपमा खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।
भेलाले प्रेम बोहरा उपप्रमुख, ललित चन्द महासचिव, हरि अधिकारी सचिव र स्नेहा उपाध्याय कोषाध्यक्ष चयन गरेको छ।
बुधे बुढा, ऋषिराम पाण्डे, निर्मला सापकोटा, अविसरा सुवेदी र सुनिता विक समितिको सदस्य छानिएका छन्।
प्रदेश प्रमुखका लागि ६ र सदस्यका लागि १७ जनाको उम्मेदवारी परे पनि आपसी सहमतिमै पदाधिकारी र सदस्य छानिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
केन्द्रीय सभापति रवि लामिछाने र कार्यवाहक महामन्त्री बुर्लाकोटी लगायत नेताको उपस्थितिमा भेलामार्फत् प्रदेश समिति गठन गरिएको हो।
विशेष राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको निष्कर्षका साथ रास्वपाको केन्द्रीय समितिले २०८० फागुन ७ गते कर्णाली प्रदेशका सबै समिति विघटन गरेको थियो।
६ महिनाको सांगठनिक रिक्ततापछि रास्वपाले प्रदेश समिति हुँदै कर्णालीमा जिल्ला, पालिका र वडा समिति गठन सुरूवात गरेको हो।
गत फागुन ७ गते बसेको सचिवालय बैठकले कर्णाली प्रदेश समिति विघटन गरेको थियो। कर्णाली प्रदेशका सभापति धिरज वली थिए।