शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार सय ५९ प्रजातिका चरा

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले जानकारी दिनुभयो । “राष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरूको अध्ययन भइरहेको हुन्छ, अहिले यहाँ चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटामा विभिन्न समयमा बसाइँ सरेर पनि चराहरू आउने गरेका छन् ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताउनुभयो ।

यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारसलगायतका दुर्लभ चराका प्रजाति रहेको निकुञ्ज कार्यालयले जनाएको छ । “यहाँ खरमयुर, सारस र विभिन्न समयमा गिद्ध पनि बसाइँ सरेर आउने गरेका छन्”, सहायक संरक्षण अधिकृत यादवले भन्नुभयो, “शुक्लाफाँटामा विभिन्न प्रजातिका चरा हिउँदको समयमा बसाइँ सरेर आउने गरेका छन् ।” नेपालमा पाइने आठ सय ८७ चराको प्रजातिमध्ये चार सय ५९ प्रजाति शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दक्षिण एसियाकै ठूलो घाँसेमैदान, ३६ वटा पाटेबाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

यहाँको घाँसेमैदानमा सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरूमा शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक पर्यटक सङ्ख्यासमेत बढेको छ । अहिले निकुञ्जमा पर्यटक भित्रिने सिजन भएकाले पनि आन्तरिक पर्यटक बढेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासनका अनुसार अहिले महिनामा चार–पाँच सयको सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply