संगीत र अध्यात्ममा तल्लीन गायक तिलकसिंह, जो चर्चामा विश्वास गर्दैनन्

हिट गायकलाई भ्याइ–नभ्याइ हुने समय हो, यो। दैनिक दशौं गीत रेकर्ड गर्न भ्याउँछन्। देशविदेशमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन पनि पुगेकै हुन्छन्। अनि सुरु हुन्छ— भ्याएसम्म कमाउनु पर्छ।तर, गायक तिलक सिंह पेला यस्तो धपडीमा छैनन्। पैसा कमाउने चटारो पनि छैन उनलाई। बरू सकेसम्म साधनामै केन्द्रित हुन खोज्छन्।

०७९ सालमा डाक्टर प्रदीपकुमार मैनालीको गजल ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’, गाएर रातारात हिट भएका गायक पेला रहरले हिट भएका भने होइनन्। न त हिट हुनलाई नै उनले के लत बस्यो गाएका थिए।‘दर्शक–श्रोताले मन पराइदिएपछि कसको के लाग्दोरहेछ र’, उनले भने। उनका लागि यो संयोग थियो। गजल हिट होला भनेर सोचेका पनि थिएनन्। उनी भन्छन्, ‘अस्तित्वले के गराउँदोरहेछ भने, जब कुनै डिमाण्ड हुँदैन तब त्यसले दिँदोरहेछ। त्यस्तै गर्‍यो के लत बस्योले।’

काम गरेपछि राम्रो होस् भन्ने आस राखिन्छ तर कतिपय पूरा हुनै पाउँदैनन्। आफ्नै विद्यार्थीले खोलिदिएको युट्युब च्यानलबाट (जो हजार सस्क्राइब पनि थिएन) के लत बस्यो सार्वजनिक गरेका थिए उनले। त्यसैले चुपचाप गीत आउँछ, आफूजस्तै हराउँछ भन्ने लागेको थियो उनलाई। तर, के लत बस्योले सांगीतिक दुनियाँमा फर्काइदियो उनलाई। उनी भन्छन्, ‘म जति भाग्न खोजेँ सकिनँ। मेरो संगीतले मलाई आम दर्शक–श्रोतामाझ ल्याएरै छाड्यो।’०५४ सालतिर बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गीत रेकर्ड गराउन काठमाडौँ आएका थिए उनी। उनका दाजु कृष्णसिंह पेलाले लेखेको – ‘लुकाउन खोज्दा पनि आँसु नखसेको होइन’ बोलको आधुनिक गीत गाएर राम्रै चर्चा कमाए उनले। मञ्चहरू पाएका थिए। काठमाडौँमा संघर्ष गर्न सकिन्छ भन्ने ह्याउ थियो उनमा। कैयन स्रष्टासँग उनको उठबस भयो। आरोहण गुरुकुल थिएटरमा एकल सांगीतिक साँझ नै गरे।

‘संगीतमा लाग्ने हो भने सिक्नै पर्छ भन्ने हुन्थ्यो’, उनले सुरुवाती दिनका अनुभव सुनाए। रेडियो नेपालमा भ्वाइस पास गरे। केही मञ्चमा गीत पनि गाए। पाउनुपर्ने चर्चा पाएपछि पनि कैयौं गीत कम्पोज गरे। तर, फुर्किएर गीत रेकर्ड गर्दैनथे उनी। बरु कम्पोज भएका गीत गजल उनको डायरीमा कैद रहन्थ्यो। र, धुन उनको मन—मस्तिष्कमा हुन्थ्यो।

काठमाडौँमा संघर्ष गरेरै चार वर्ष बिताइदिए उनले। जब संगीतलाई गम्भीर भएर सोच्न थाले तब विधिवत् सिक्नुपर्छ भन्ने लाग्यो उनलाई। र, शास्त्रीय संगीतका गुरु पण्डित धनबहादुर गोपालीको शिष्य हुन पुगे। दश वर्ष उनले शास्त्रीय संगीत नै सिके।संगीत प्रवीण तह र भारतको इलाहावादस्थित प्रयाग संगीत महाविद्यालयबाट संगीत आचार्य गरेका तिलकले श्रीकृष्ण संगीत पाठशाला खोले। आफ्नै विद्यार्थीसँग रमाउने, साधना गर्ने, र रागहरू पर्गेल्न थाले। उनी भन्छन्, ‘मेरा लागि संगीत खोजको विषय थियो। गाएकै भरमा सन्तुष्ट हुन सकिनँ। अनि घोच्न थाल्यो मलाई। पीडा दिन थाल्यो।’

संगीतमा गम्भीर भएर लागेका तिलक गायनमा राम्रै पहिचान बनाए तर एक दशकभन्दा बढी गुमनाम भए। किन? उनी भन्छन्, ‘दर्शकश्रोताको नजरबाट त म हराएँ तर गीत–संगीतबाट हराएको थिइनँ। मैले संगीत सिक्न जरुरी थियो तर यो त जति सिक्यो त्यति गहिरो रहेछ। बाहिर निस्किनै नसकिने। अनि १३ वर्ष हराइदिएँ।’

शास्त्रीय संगीतको लतमा परेपछि उनले आफैँलाई दर्शक बनाए, श्रोता बनाए। आफ्नो आलोचक आफैँ भए। कमीकमजोरी खोज्न थाले । अनि निरन्तर साधनामा लीन भए।

हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैं तिलकले यो यात्रामा धेरै हण्डर खाए। विपद् झेले। दुःखलाई आत्मसात् गरे। उनलाई यो यात्रा जति कहालीलाग्दो लाग्छ, त्यति रोचक पनि। अभावमा दुःख हुन्छ तर आफूले रोजेको हिँड्दा हण्डर खाए पनि। उनी भन्छन्, ‘आफैले रोेजेको बाटो हो। जस्तै घामपानी पनि सहनुपर्छ। दुःख पाइयो भनेर अरूलाई गुनासो गर्ने ठाउँ कतै छैन।’

कुनै पनि विधामा गम्भीर रूपमा लाग्न सके सफल हुन सक्ने बुझाइ छ उनको। आफूले रोजेको कामलाई पर्गेल्न सक्नुपर्दोरहेछ भन्ने लाग्छ उनलाई। आफूले सिकेको कुरामा सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनु जरुरी ठान्छन्। भन्छन्, ‘सिकाइका क्रममा अनेक बाधा अड्चन आउँछन्। तर, आफूले रोजेको यात्रामा ती सामान्य लाग्छन्। रोजेर लिएको यात्रा हो नि!’

उनलाई नजिकबाट चिन्नेहरू भन्छन्— संगीतको जोगी। त्यही प्रश्न उनलाई दोहोर्‍याउँदा उनी मुस्कुराइदिन्छन्, मात्र। ‘सबथोक बिर्सिएर एउटा चिजमै एकाग्र हुनु जोगी हुनु त हो’, उनले भने, ‘संगीतमा म जोगी हुँदा खुसी छु। जो–जो मित्रले मलाई आशीर्वाद दिनुभएको छ म उहाँहरूप्रति आभारी छु।’

भावुकता आफ्नो कमजोरी ठान्छन् उनी। तर, सिर्जनात्मक क्षेत्रमा भावनाले ठूलो भूमिका खेल्ने बुझाइ छ उनको। उनी सुदूरपश्चिम जन्मथलो सम्झिँदा भावुक भए। गला अवरुद्ध भयो उनको। भन्छन्, ‘सुदूरपश्चिम सम्झिँदा पनि भावुक हुन्छु। मलाई त्यहाँको सम्झनाले भित्रैदेखि पगाल्छ।’

संघर्षका घडीमा काठमाडौँको बसाइ फलदायी भए पनि उनलाई आफ्नै जन्मथलो बस्न मन थियो। तर, विवशता के हो भने— संगीतले उनलाई यहाँको यहीँ राख्यो। उनी भन्छन्, ‘मलाई अपी हेर्दै बैतडीको फाँटहरू हेर्न मन थियो। गाउँमा हुन्थे। देउडा खेल्थेँ। चैतालो खेल्थेँ। ठाडी भाका गाउँथेँ। आफ्ना परिवारसँग हुन्थेँ।’

यी तमाम आत्मीय मन साधनामा लागेपछि गुम्दोरहेछ भन्छन् उनी। उनी भन्छन्, ‘भावनात्मक पीडा त हुन्छ तर खुसी पनि त्यसैमा छ। मेरा शुभचिन्तक आफन्तहरू मेरो कर्ममा खुसी पनि हुनुहुन्छ।’

कुनै बेला आधुनिक गीत गाउने पहिलो सुदूरमश्चिमेली गायक तिलक सिंह पेला भनेर चिन्थे दर्शकश्रोताले। तिनै दर्शकश्रोता अहिले असन्तुष्ट छन्। भावुक स्वभावका गायक तिलकले सुदूरपश्चिम बिर्सिए। उनले सुदूरको मौलिक गीत–संगीत गाउँदैनन् भन्ने आरोप लगाउँछन् उनलाई।

‘देउडा ठाडी भाका त मेरो रगतरगतमा छ। म गाउँछु। गाइरहनेछु। कुनै न कुनै माध्यमबाट गाइरहेको पनि छु। तर, पछिल्लो समय म सिक्नतिर लागेँ’, उनले भने, ‘गाएर मात्रै हुँदोरहेनछ। संगीत के हो। ताल के हो। सुर के हो? रस के हो? राग के हो? देउडा गीत मात्रै गाएर त बुझ्न सक्दिन। ती सबै सैद्धान्तिक ज्ञान हासिल गर्नतिर लागेँ। त्यसैले देउडा गीत छुटेको हो। गाउने रहर त छ।’

सिकाइ भनेको मानिसको सोचलाई फराकिलो बनाउने हो। उनका लागि भोलि सिकाउन सक्ने पनि हुनुपर्छ भन्ने हो। राम्रो संगीत पढेका बैतडीमा भएको भए, या ताप्लेजुङमा भएको भए काठमाडौँ डेरा गरी, खर्च गरी पढ्न आउनुपर्थेन भन्ने लाग्छ उनलाई। उनका अनुसार सिक्न मात्रै नभएर सिकाउन पनि विधिवत् ज्ञान हासिल गरेको हुनुपर्छ। त्यसैले साधनामै केन्द्रित भएको बताउँछन् उनी।

उसो त सुदूरको जीवनशैली आफ्नो गीतमा कहीँ न कहीँ जोडिरहेका छन् उनले। पछिल्लो समय उनको गीत ‘देउरसरा आइगई’ पनि हो। हुन त गीतसंगीतका ज्ञाताहरूले देउसरा आइगई बोलेको गीत देउडा होइन बरु आधुनिक गीत मान्न सकिन्छ भने। यो कुरालाई उनी मान्छन्। देउडा नै नभए पनि सुदूरको संस्कृति र भाषा केही ल्याएको स्वीकार्छन्।

उनी भन्छन्, ‘देउडा भनेको सुदूरको भाका हो। धुन हो। अग्रजहरूले गाइसक्नुभएको छ। त्यस कारणले पनि नयाँ धुन खोजेर ल्याएको हुँ। यो सबै संस्कृतिमा एउटै संस्कृति मिल्छ भाषा पनि मिल्छ। परम्परागत धुनहरू त छैन तर धानी राग अन्तरगतको कम्पोज भएको छ।’

गीत संगीतमा गम्भीर रुपमा लागेका तिलक अहिले केही वर्षदेखि श्रीकृष्ण संगीत पाठशाला चलाइरहेका छन्। सिक्दै र सिकाउँदै छन्। तर, सुदूरपश्चिममा रहेका उनका प्रशंसकले अझै भन्ने गर्छन् — पेलाले जति देउडा गाइदिनुपथ्र्यो गाइदिनु भएन?

उनी यो कुरालाई स्वीकार्छन्। उनका लागि बजारमा मात्रै आउने कुरा होइन भन्ने लाग्छ। बजारमा जो पनि आइरहेका छन्। जस्ताले पनि गाइरहेका छन्। २३ वर्षपछि ‘निर्जन किनार’ एल्बम लिएर आए। के लत बस्योले उनलाई चिनायो। तर, उनले चिनिनका लागि गीत गाएनन्। आफूले गरेको कर्मलाई निरन्तरता दिएका हुन्। जो हिट भयो। कापीमा कैद भएका कैयौं गीत र ती पुराना धुनलाई उनका विद्यार्थीको आग्रहमा निरन्तरता दिन खोजेका थिए। त्यो दर्शक श्रोताले रुचाइदिए। उनी भन्छन्, ‘बजारमा आउन र हिट हुन गीत ल्याएको होइन मैले। त्यस्तो कहिले दिमागमा आएन। काम गर्ने हो, बस्।’

सुदूरपश्चिमको गीतसंगीतमा उनी गम्भीर छन्। सुदूरका गीतहरू अझै फराकिलो हुँदै जाओस् भन्ने उनको अपेक्षा छ। त्यसमा आफू लागेको पनि बताउँछन् उनी। तर, पश्चिम नेपालका मौलिक भाकासँग कुमाउ गडवालको भाका मिक्स गरेर गीत पनि आइरहेका छन्। उनी यसलाई स्विकार्छन् पनि। तर, यसलाई प्रभाव मान्दैनन्। उनी भन्छन्, ‘कुमाउ गडवाल काली–कर्णाली त एउटै संस्कार र संस्कृति सभ्यता हो। मानस खण्डीय सभ्यता हो भनौं। खासमा सन् १९४७ पछि त्यो भेग भारतमा परेपछि न टुक्रिएको हो। तर, कुमाउ गडवालदेखि काली—कर्णालीसम्मको उद्गम स्थलसम्म पुग्छ। एउटै परम्परा र संस्कृति हो।’

त्यसोभए केन्द्रको गीत–संगीतसँग पश्चिमको लोक संगीत कहाँ छ त ? उनी केन्द्रको गीत–संगीतबाट टाढा काली–कर्णालीको देउडा, ठाडी भाकालगायत गीत पछाडि पर्नु भाषा नै मान्छन्। उनी भन्छन्, ‘पहिलो त भाषाकै कारण हामी पछाडि छौं। अर्को, कलाकारको कमजोरी छ। केही राज्यको सौतेनी व्यवहारले पनि कालीकर्णालीको लोक संगीत पछाडि परेको हो।’

केन्द्रको संगीतसँग उभिनका लागि सुदूरका गायक—कलाकारले अध्ययनको जरुरी देख्छन् उनी। उनका अनुसार स्थानीय सरकारले पनि अलग्गै अभियान चलाउनुपर्ने थियो। अथवा केन्द्रबाटै पनि राज्यले कला साहित्य र संगीतमा खासै ठूलो काम गरेको देख्दैनन् उनी। भन्छन्, ‘मातृभाषाका गीतसंगीत उकास्नका लागि राज्यको नीति राम्रो हुनुपर्‍यो। गायक कलाकारले पनि सिक्नुपर्‍यो। बुझ्नुपर्‍यो। बहस छेड्न सक्नुपर्‍यो र केन्द्रसँग प्रतिस्पर्धी गर्न सक्नुपर्‍यो। त्यसका लागि गायक–कलाकार नै जागरुक हुनुपर्‍यो।’

पछिल्लो समय ‘देउडा आइडल’ हुने समाचार बाहिरिएपछि अर्को बहस चलेको छ— देउडा आइडल विश्वव्यापी बन्न सक्छ ? यसको बजार कस्तो होला ? यसमा सहभागी प्रतिस्पर्धी कति होलान् ? यसले सबै भाषाभाषीका प्रतिस्पर्धीलाई समेट्न सक्छ? भन्ने प्रश्न आएको छ। उनी एउटा जजको भूमिकामा अनुबन्धित पनि भएका छन्। तर, उनी यस्ता आइडलको पक्षधर होइनन्। उनी भन्छन्, ‘भोटको आधारमा विजेता हुने आइडलको पक्षधर होइन म तर आफूले जानेको ज्ञान सीपका लागि काम त गर्नै पर्‍यो। यसलाई जति सकिन्छ फराकिलो बनाउने कोसिस गर्नुपर्छ भन्ने लाग्छ।’

उनका अनुसार कालीकर्णालीका साथै मानसखण्ड पूरै समेट्न सकियो भने कुमाउ गडवालसम्म पुग्न सकिन्छ। किनकि देउडा त कमाउ गडवालतिर पनि गाइन्छ।’

आँसु, आँसु—दोस्रो भाग, विछोडको आँसु जस्ता एलबमका नाम राखेर गीत निकाले उनले। आँसुकै गीत गाए। उनलाई आँसुप्रति गहिरो लगाव छ। कुनै ठूलै दुर्घटनाका कारण होइन। भावनात्मक रुपमा आँसु जोडिएको बताउँछन् उनी।

उनका अनुसार आँसु दुई किसिमले आउँछन्, कि दुःख पर्दा, कि अत्यन्तै खुसी हुँदा। उनले आँसु एल्बम निकाल्नुको कारण अत्यन्तै खुसी भएर हो। ‘हृदय त विणाको तार चलाउँदा निस्किने धुनजस्तो हो। झंकृत हृदयले नै भावना जन्माउने हो। आँसु ल्याउने हो’, उनले भने, ‘मैले गाउने भावनाले हो। यो एउटा कमजोरी पनि हुन सक्छ तर मेरो स्वभाव हो यो। मान्छेसँग हृदय त छ नि! हृदय नै भएन भने जिन्दगी के। र मेरो रुने स्वभाव छ। मलाई छिट्टै छुन्छ।’

रूनका लागि उनले भावना रोजे भने आनन्दका लागि संगीत रोजे। आज उनलाई चिन्नेहरूले भन्छन्— शास्त्रीय संगीतका गुरु। तर, उनको चिन्ता नयाँ पुस्तालाई शास्त्रीय संगीतमा लाग्न कसरी प्रेरित गर्ने ? शास्त्रीय संगीत छिट्टै सिक्न सकिँदैन। छिट्टै आयस्रोत दिँदैन। भाइरलको पछाडि लागेर शास्त्रीय संगीत सिक्न पनि सकिँदैन। यस्तो बेला राज्यले नै शास्त्रीय संगीतलाई उकास्न गम्भीर भइदिनुपर्ने देख्छन्।

शास्त्रीय संगीतको औपचारिक तथा गहन रूपमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आवश्यक रहेको महसुस गर्ने तिलकले ज्ञान र ध्यानलाई पछ्याइरहेका छन्। उनले भने, ‘ज्ञानको पछाडि धेरै लागेका छन् तर ध्यान त अभ्यास हो। जसलाई निरन्तरता दिन धेरै कम मान्छेले सक्छन्।’

एक दशकदेखि अध्यात्मलाई पछ्याइरहेका तिलक रजनिश ओशोको माला लगाउँछन्। हात जोडी शिर झुकाएर अभिवादन गर्छन्। यो साधनाबाटै पाएको संस्कार हो। गुरूहरूप्रति भावक हुन्छन् उनी। कुनै न कुनै निराशाबाट गुज्रिएकाहरू अध्यात्मको बाटो लागेका पनि छन्। निराशाले मान्छेलाई शान्तिको बाटो डोर् याउँछ। उनी भन्छन्, ‘प्रकृतिलाई बुझ्न अध्यात्मको बाटो रोज्नेहरू छन्। मचाहिँ आफूलाई बुझ्न लागिपरेको छु।’

जीवनमा अध्यात्ममार्गमा हिँडिरहेको शास्त्रीय संगीतको विद्यार्थी भन्न रुचाउँछन् उनी। भन्छन्, ‘शास्त्रीय संगीतले बहुतै आनन्द दिन्छ। ज्ञानमार्ग पहिल्याउँछ। शास्त्रीय संगीतबाट मोक्ष पनि मिल्छ भन्छन्। व्यक्ति रहँदैन केवल संगीत रहन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply