पुस २५
कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन रहेको ढल निर्माण तथा प्रसोधन र ड्रेन निर्माणको कार्यमा ढिलाई भएको छ । बेलौरी नगरपालिका –४ बेलौरी बजारको ढल सहितको प्रसोधन र ड्रेन निर्माण कार्यमा ठेकेदारले काममा ढिला सुस्ती गर्दा बजार वरपरका स्थानीय र व्यापारीहरूले सास्ती खेप्न परेको हो ।
ठेकेदार कम्पनीको बदमासीले निर्माण कार्य ढिलाई भएपछि स्थानीय आक्र्रोसित भएका छन । बेलौरी नगरपालिकाले १ हजार ३ सय मिटर ड्रेन निर्माणका लागि ०७८ मा ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रालिसँग ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सुरुमा ३ महिनाको म्याद राखी सम्झौता गरिए पनि त्यसयता ६–६ महिनाको म्याद थप्दै जाँदा समेत हालसम्म निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बरु निर्माण कम्पनीका प्रतिनिधि ड्रेन निर्माणको काम अधुरै छोडेर बेपत्ता हुँदा उक्त कार्य अलपत्र परेको स्थानीयको आरोप छ ।
स्थानीयले नगरबाट संचालित योजना शिघ्र कार्यान्वयन भएपनि माथिल्ला सरकारबाट संचालिन योजना ढिलाई भएको भन्दै चिन्ता व्यक्त गरेका छन । बेलौरी नगरपालिकाको वेवास्ता र निर्माण कम्पनी चरम लापरबाहीले काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ ।
स्थानीय पुष्कर सिह बुडालले ठेकेदारले ढल निर्माण कार्यमा ढिलाइ गर्दा बजार वरपरका स्थानीयले सास्ती खेप्न परेको बताए । ‘ठेकेदारले काम गरिरहेको छैन । काम अलपत्र छाड्दा बजार एरिया कुरूप बनेको छ’ स्थानीय बुडालले भने ‘ढल र ड्रेन निर्माण कार्य अलपत्र छाडदा वर्षातमा बजारमा पानी भरिन्छ, हिउँदमा धुलोले हैरान पारेको छ ।’
ढल तथा प्रसोधन कार्यको लागि ०७८ कार्तिक १५ मा धनगढी स्थित मृत संजिवनी ग्वाला थेगिम निर्माण कम्पनी सङ्ग १६ करोड लागतमा सम्झौता भएको थियो । तर नगरपालिकाले जग्गा खोज्न नसक्दा ०७८ मा काम हुन नसकेको जनाईएको छ । जसका कारण ०८० असोज १४ मा सक्नुपर्ने काम म्याद थप गरेर ०८१ असोज १४ मा पु¥याईएको छ ।
संघीय सरकारको आयोजना अन्तरगत निर्माण भइरहेको ढल प्रसोधन योजना नगरपालिकाले जग्गा व्यवस्थापन गर्दा ०७९ असार ३० देखि कार्य शुरु भयो । नगरपालिकाले विद्युत कार्यालय भन्दा दक्षिण तर्फ जमिन खोजेर ढलको अन्तिम बिन्दु टुंगो लगाएको थियो ।
केही समय काम रोकिएपनि निर्माण कार्य चलिरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कञ्चनपुरले जनाएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय इन्जिनियर पवन भट्टले बेलौरीमा ढलको काम भएको बताए ।
‘प्राविधिक समस्याले काम रोकिएको हो । निर्माण कार्य हिजो बाट पुन ः शुरु भयो’ इन्जिनियर भट्टले भने ‘करिब ९ किलोमिटरको योजनामा काम भइरहेको छ । ढिलाइ हुदैन ।’ अहिलेसम्म ११ सय मिटर पाइप लाइन जडान ,टृट्मेन्ट प्लान्टको घेरबारको काम सकिएको इन्जिनियर भट्टले बताए ।
ढलको योजना संघीय सरकारबाट संचालन भईरहेको र त्यसमा नगरपालिकाको पुर्ण साथ सर्मथन भईरहेको पालिकाले जनाएको छ । बेलौरी नगरका उपप्रमुख जोगराम चौधरीले ठेकेदार कम्पनीले ढ्ल निकासको काम समयमै शुरु नहुदा समस्या आएको बताए ।
‘ड्रेन निर्माण गर्ने ठेकेदार सम्पर्कमै छ्न । अन्तिम पटक म्याद थप गरेका छौ’ उपप्रमुख चौधरीले भने ‘ढल निकासको काम शुरु भएको छैन ,सडक बिचबाट पाईप बिछाउने हो ।’ ढलले निर्माण गर्ने ठेकेदारले काम गरे, ड्रेन निर्माण कार्यमा सहजता आउने उपप्रमुख चौधरीले बताए । ढल निर्माणको जिम्मा पाएको प्यारागन कन्स्ट्रक्सन प्रालिसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । तर, स्थानीयले राज्यको बजेट समयमै निर्माण गर्नुपर्नेमा जोडदिएका छन ।
