१३ माघ धनगढि
मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले मधेस प्रदेशलाई ६ विकेटले हराएको छ । मधेसले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जसमा सावित्री धामीले अविजित ४३ र निलम पाण्डेले २२ रनको योगदान गरिन् । मधेसका लागि मिना महतोले २ र प्रतिमा शाहले १ विकेट हात पारिन् । यसअघि चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । उसका साना प्रविनले सर्वाधिक ३४ रन बनाइन् । सुदूरपश्चिमका लागि अनु कडायतले २, करिश्मा थापा र स्नेहा महराले १÷१ विकेट लिए । सुदूरपश्चिमकी सावित्री धामी प्लेयर अफ द म्याच घोषित भइन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा प्रतियोगिता माघ १२ गतेदेखि शुरू भएको हो । प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहेको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ ।