२६ माघ धनगढी
१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ। जिल्लाको मेलौली नगरपालिका १ स्थित मेलौली भगवति खेलमैदानमा जिल्लास्तरीय रनिङ शिल्ड शुरु भएको हो । जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारीको अध्यक्षतामा प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए । प्रतियोगिताको पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीद्धारा उद्घाटन गरिएको उनले बताए ।
उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, १० ओटै पालिकाका प्रमुख तथा उपप्रमुख सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा बोल्दै बैतडीबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री दामोदर भण्डारीले खेल क्षेत्रको विकासमा सरकारले ध्यान नदिएको बताएका छन् । पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई यो सरकारले निरन्तरता नदिएको आरोप लगाएका छन् । यसैगरी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेल क्षेत्रको विकासका लागि सरकारको ध्यान जानु आवश्यक रहेको बताएका छन्। अहिले सरकारले खेल क्षेत्रका लागि पार्याप्त बजेटको व्यवस्थापन गर्न नसकेको बताए । आज केही एथ्लेटिक्सका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ।
