बैतडीको बाशुलिङ्ग सहकारीले किसानहरुलाइ सहुलियत कर्जा वितरण

७ फागुन धनगढी
बैतडीको बाशुलिङ्ग सहकारीले किसानहरुलाइ सहुलियत कर्जा वितरण गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ स्थित बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ जना किसानहरुलाई सहुलियत कर्जा वितरण गरेको हो । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट प्राप्त रकम सहकारीका सेयर सदस्य एवं व्यवसायीक किसानहरुलाइ वितरण गरेको बाशुलिङ्ग बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक योगेश बहादुर चन्दले जानकारी दिए । उनका अनुसार २०७९ सालमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले सहुलियत कर्जाका लागि प्रस्ताव माग गरेको थियो । सो कोषबाट प्रस्ताव माग भएपछि सहकारीले संस्थामा आबद्ध बेरोजगार व्यक्तिहरुलाइ सस्तो व्याजदरमा ऋण प्रवाह गरि स्वरोजगार बनाउने उदेश्यले ३० लाख थोक कर्जाका लागि प्रस्ताव पेश गरेको थियो ।सो प्रस्ताव स्वीकृत भएर पहिलो किस्ता १५ लाख प्राप्त भएपछि सहुलियत कर्जाका लागि सहकारीमा आवेदन दिएका व्यक्तिहरुलाई वितरण गरिएको हो । माघ २९ गते सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टको उपस्थितिमा कर्जा वितरण गरिएको हो । १५ जना मध्ये ४ जनालाई तरकारी खेतिका लागि, २ जनालाई बाख्रापालनका लागि, ३ जनालाई भैंसीपालनका लागि ,२ जनालाई कुखुरापालनका लागि सहुलियत कर्जा दिइएको सहकारीका व्यवस्थापक चन्दले बताए । यस्तै ३ जनालाई खुद्रापसल सञ्चालन र १ जनालाई फर्निचर उद्योग सञ्चालनका लागि कर्जा दिइएको हो ।

उनिहरुलाई ५० हजार देखि ३ लाख सम्म कर्जा दिइएको बताइएको छ । गरिबिको रेखामूनि रहेका सहकारीमा आबद्ध व्यक्तिहरु व्यवसाय गरेर आयआर्जनमा वृद्धि गर्न सकुन भनेर सहुलियत कर्जा वितरण गरिएको सहकारी पुनःस्थापना कर्ता एवं सल्लाहकार मानबहादुर चन्दले बताए । बेरोजगार भएर विदेश पलायन भैरहेका युवाहरुलाई सहुलियत कर्जा दिएर आफ्नै गाउँ ठाउँमा गरिखाने वातावरण सिर्जन गराउन तर्फ सहकारी लागि परेको उनले बताए । वितरण गरिएको सहुलियत कर्जाको सदुपयोग गरेर व्यवसाय सञ्चालन गरे आर्थिक स्थिति सुदृढीकरण हुने अपेक्षा गरिएको सहकारीका अध्यक्ष देव बहादुर चन्दले बताए । यसरी सहुलियतमा कर्जा दिने बाशुलिङ्ग सहकारी बैतडीमै पहिलो सहकारी संस्था हो । बाह्य निकायबाट सहकारीले सहुलियत कर्जा उपल्बध गराएपछि नागरिकहरु खुसि भएका छन् । लगानि अभावमा व्यवसाय सञ्चालन गर्नबाट बञ्चित नागरिकहरु सहकारीले सहुलियत कर्जा दिएपछि खुसि भएका हुन् । सहकारीले सहुलियत कर्जा दिदा व्यवसाय अगाडी बढाउन सहज भएको उनिहरुको भनाई छ ।आर्थिक अभावले बेरोजगार भएर विदेश पलायन भैरहेका बेला बाशुलिङ्ग सहकारीले सहुलियत कर्जा उपल्बध गराएपछि उनिहरुलाई व्यवसाय सञ्चालन गर्न मदत पुगेको छ । ५ प्रतिशत व्याजदरमा पाँच वर्षमा साँवा र व्याज चुक्ता गर्ने गरि सहुलियत कर्जा दिइएको हो । उनिहरुले लिएको कर्जाको प्रत्येक तीन महिनामा व्याज र १ वर्षमा लिएको रकमको किस्ता बुझाउनु पर्ने छ । सुर्नया गाउँपालिका वडा नं २ र ३ मा कार्यक्षेत्र रहेको बाशुलिङ्ग सहकारीकामा हाल ६ सय ५० जना सेयर सदस्य छन भने २१५ जना बालसदस्यहरुले संस्थामा बचत गर्दै आएका छन् ।

लगानी गरेको कर्जामा वार्षिक १४ प्रतिशत लिने गरेको सहकारीले सदस्यहरुलाई विभिन्न व्यवसाय सञ्चालनका लागि कर्जा दिने गरेको छ । दैनिक बचत, नियमित बचत र ऐच्छिक बचतका रुपमा प्राप्त हुने बचतमा सहकारीले वार्षिक ८ प्रतिशत व्याज दिने गरेको छ । बाहृय निकायबाट समेत ऋण लिएर सदस्यमा लगानि गरिरहेको सहकारी जिल्ला बचत संघ र केन्द्रीय बचत तथा ऋण संघको सदस्य समेत रहेको छ । हालका वर्षहरुमा वार्षिक ५ लाख भन्दा माथि खुदनाफा आर्जन गरिरहेको सहकारी संस्थामा २ करोड २५ लाख सम्मको बासलात छ । संस्थाको इतिहास बाशुलिङ्ग सहकारी पुरानो सहकारी संस्था हो । यो संस्था २०५३ साल भदौ ६ गते सिप्रेड आयोजनाको प्राविधिक सहयोगमा स्थापित संस्था हो । २०५४साल फागुन २१ गते डिभिजन सहकारी कार्यालय कैलालीमा दर्ता भइ तत्कालीन बाशुलिङ्ग गाविसको वडा नं १ सुमल्लामा संञ्चालनमा आएको थियो ।सुमल्लाबाट सेवा दिइरहेको संस्था २०६१ बैशाख देखिको द्वन्दका कारण बन्द भयो । फेरि ६१ भदौमा पूर्णरुपमा विघटन गरेर २०६३ असोज ६ गते देखि हालको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटाबाट सञ्चालनमा छ । यसको कार्यालय सुर्नया २ लिस्किटामा छ भने सतबाँझ चौराहमा समेत शाखा कार्यालय रहेको छ ।अहिले संस्थाका अध्यक्ष देव बहादुर चन्द छन भने व्यवस्थापक योगेश बहादुर चन्द छन् । सहकारी संस्थालाई पूर्व अध्यक्ष एवं सहकारीका जानकार मानबहादुर चन्दले संरक्षकत्व प्रदान गरेका छन् । आम जनमानसमा आफ्नो पहिचान कायम गरि समुदायको विश्वास जित्न सफल बाशुलिङ्ग सहकारीका सेवाहरु निश्पक्ष, पारदर्शी र समावेशी भएकाले अन्य संस्थाको दाँजोमा अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply