हिउँदयामको उत्तरार्द्धमा बिहीबार काठमाडौंसहित देशैभर वर्षा

११ फागुन धनगढी
हिउँदयामको उत्तरार्द्धमा बिहीबार काठमाडौंसहित देशैभर वर्षा भयो। काठमाडौंमा साँझपख पानी परेको थियो भने देशका अन्य भूभागमा बिहानैदेखि फाटफुट वर्षा भएको थियो।

काठमाडौंमा ७.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार अन्यत्रको तुलनामा काठमाडौंमा हिजो बढी पानी परेको मापन भएको थियो।

काठमाडौंपछि ओखलढुंगामा ५.४ मिलिमिटर वर्षा भएको थियो।

महाशाखाकाअनुसार पोखरामा १.८, दिपायलमा ३.२, डडेलधुरामा ३.२ मिलिमिटर वर्षा मापन भएको छ।

यस्तै ताप्लेजुङ केन्द्रमा १.४ मिलिमिटर पानी परेको महाशाखाले बताएकोछ।

बिहीबार देशैभर पानी परे पनि यसपालि सरदर हिउँदे वर्षा पुग्ने भने देखिँदैन। विभागकाअनुसार फागुन १० गतेसम्म १०.४ मिलिमिटर मात्रै वर्षा भएको छ। यो भनेको सरदर वर्षाको १७.३ प्रतिशत मात्रै हो।

हामीकहाँ हिउँदयाममा सरदर ६०.१ मिलिमिटर वर्षा हुनेगर्छ। पछिल्लो डेढ दशकमा दुई-तीन सालमात्र सरदर वर्षा भएको छ।

हिउँदे वर्षापछि हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ। हिउँ नपरेर सुख्खा लागेका पाखामा पानीसँगै हिमपात भएपछि कृषकहरूमा खुसीयाली छाएको छ।

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ।

बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो।

हमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले आवतजावतसमेत गर्न सकेका छैनन्।

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनले बताए। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।

‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन,’ अदैले भने, ‘एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’

गत म‌ंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन्। बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन्। लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।

हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए।

‘हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु,’ उनले भने।

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए।

‘हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन्,’ उनले भने।

वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ।

हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन्। खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए।

‘बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन्,’ उनले भने।

यता मनाङको तल्लो मनाङ र सदमुकाम चामेबजारमा पनि हिमपात भएको छ।

ढिलै भएपनि हिउँ परेकाले खेतीपाती राम्रो हुने भयो भनी मनाङका किसान पनि खुसी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply