बैतडीमा बुधबारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु

१६ फागुन धनगढी
बैतडीमा बुधबारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत बैतडीमा पनि बुधबारदेखि अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बुधबार एक कार्यक्रमका बीच दादुरा–रुबेला खोप अभियानको शुभारम्भ गरिएको छ । पाटन नगरपालिका ९ स्थित किचार खोप केन्द्रमा अभियानको शुभारम्भ गरिएको हो । उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिसस प्रमुख खगेन्द्रसिंह धामीको उपस्थिती रहेको थियो । जिल्लाका पाँचओटा पालिकामा बुधबारदेखि अभियान सञ्चालन भएको छ भने पाँचओटा पालिकामा आज (बिहीबार)देखि अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए ।

खोप अभियानका लागि जिल्लाभरी ७ सयभन्दा बढी स्वयंसेवक खटिएका छन् भने ३ सय ६० जना स्वास्थ्यकर्मी खटिएका छन् । बुधारदेखी फागुन २१ गतेसम्म जिल्लाको पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । यस्तै बिहीबारदेखि फागुन २२ गतेसम्म जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । बैतडीमा ९ महिनादेखि ५ बर्षसम्मका २१ हजार ३ सय २४ जना बालबालिका हरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सुरक्षित भएकाले निर्धक्क भएर तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

दादुरा–रुबेला खोप नलगाएमा बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण हुने भएकाले यो खोप अनिवार्य रुपमा लगाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कुनै बालबालिकामा दादुरा–रुबेला संक्रमण भएमा एकजनाले १८ जनालाई संक्रमण गर्न सक्ने भएकाले यो रोगबाट बच्नका लागि अनिवार्य रुपमा खोप लगाउनुपर्ने हुन्छ । बच्चा जन्मेको ९ महिना र १५ महिनापछि दादुरा–रुबेला विरुद्धको खोप दिने गरिन्छ । उक्त खोप लगाएका बालबालिकाहरुलाई पनि अभियान अन्तर्गत खोप लगाइने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । खोप लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड समेत बोक्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply