दुग्ध किसानले दुधको रकम भुक्तानी नपाएको भन्दै भएको आन्दोलन

२१ फागुन धनगढी
दुग्ध किसानले दुधको रकम भुक्तानी नपाएको भन्दै भएको आन्दोलनमा एक पक्ष सहमत भएको छ भने अर्को पक्ष असन्तुष्ट देखिएको छ । यसले दुग्ध किसानको नाममा भएको आन्दोलन कसका लागि भन्ने प्रश्न उठ्न थालेको छ ।

उद्योगीले सरकारसँग सहमति गरेपनि किसानसँग सहमति हुन सकेको देखिएन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, डेरी उद्योगी र केन्द्रीय दुग्ध सहकारी संघले दुग्ध उत्पादक किसानसँग सहमति भइ आन्दोलन फिर्ता लिएको दाबी गरिरहँदा राष्ट्रिय किसान सञ्जालले भने आन्दोलन यथावत् रहेको दाबी गरेको छ ।

किसान सञ्जालले घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार काठमाडौँको शान्ति वाटिका, रत्नपार्कमा बृहत् किसान प्रदर्शन हुने राष्ट्रिय किसान सञ्जाल तथा नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताए ।

‘आन्दोलन गर्नका लागि सहकारीका साथीहरुले फोन गर्नुभयो, शक्ति प्रदर्शन गर्नका लागि क्षमता पुगेन, पोलिटीकल पार्टीका संघ संगठनका साथीहरुलाई नेतृत्व लिइदिनुपर्यो भनेर जिम्मेवारी दिनुभयो’ उनले भने, ‘आन्दोलनको घोषणा गर्दा उनीहरुले सल्लाह गरे तर हामीलाई थाहै नदिई सहमति गरेका छन् ।’

कृषि तथा पशुपन्छी सचिव रेवतीरमण पौडेल, सहसचिव सूर्य पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, केन्द्रीय दुग्ध सहकारी संघका प्रतिनिधि र डेरी उद्योगीबिच भएको छलफलमा आन्दोलन स्थगन गर्ने सहमति भएको दाबी गरिएको छ ।

तर यता किसान संजालमा आबद्ध किसानले आफूसँग समन्वय नगरी भएको सरकार र केही दुग्ध उद्योगीबिच भएको सहमतिमा आफूहरु असन्तुष्ट भएको तिमल्सिनाले बताए । वार्ता गरेर आन्दोलनरत किसानसँग सहमति भएको झूटो भ्रम फैलाएको उनले गुनासो गरे ।
किसान र उद्योगीबिच सहमति भइसकेकाले आन्दोलन फिर्ता भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दाबी गरे । ‘भुक्तानी पाउने र दिनेबिच सहमति भइसकेको छ,’ उनले भने, ‘अन्य संघ संगठनसँग हाम्रो सरोकारको विषय नै हैन ।’

डेरी उद्योगीले किसानसँग समन्वय गरी सरकारसँग सहमति गरेको दाबी गरेका छन् भने किसानका भातृसंगठनले भने आफूसँग समन्वय नगरी सहमति गरेको दाबी गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गर्दै आन्दोलनरत किसानसँग पाँचबुँदे सहमति भएको दाबी गरेको छ । तर राष्ट्रिय किसान सञ्जालसँग आबद्ध १४ संस्थाले किसानको पूर्वघोषित आन्दोलनका कार्यक्रम यथावत् रहेको जनाएका छन् ।

सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले फागुन १० गतेदेखि क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका छन् । उनीहरुले सोमबार पनि काठमाडौँको शान्तिवाटिका, रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो क्रमबद्धरुपमा आन्दोलन गर्दै आएका थिए ।

पछिल्लो समय करिब ५ महिनाको ६ अर्ब रकम भुक्तानी पाउन नसकेको उनीहरुको दाबी छ । दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

यस्तै, बिक्री नभएको दूधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुग्धजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन समेत उनीहरुले माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply