२१ वैशाख धनगढी
पतझडयाम सुरू भएसँगै बढेको डढेलोले प्रकोपको रूप लिएको छ। वन तथा भूसंरक्षण विभागका अनुसार पछिल्लो २४ घन्टामा देशभर २७९ स्थानमा डढेलो लागिरहेको छ।
कतिपय स्थानमा एक सातादेखि डढेलो लागिरहेको छ। र, नियन्त्रणमा लिन कठिन भइरहेको छ।
पछिल्लो आँकडाअनुसार ५५ जिल्लामा डढेलो फैलिएको छ।
यो नेपालको मात्र नभई दक्षिण एसियाकै साझा समस्याको रूपमा देखापरेको डढेलो सम्बन्धी तथ्यांक वैज्ञानिक भोगेन्द्र मिश्रले जानकारी दिए।
‘अफगानिस्तानदेखि थाइल्यान्डसम्मै भूभागमा डढेलोको प्रकोप देखिन्छ। जहाँ वन क्षेत्र बढेको छ र ग्रामीण भेगबाट सहरी क्षेत्रतर्फ बसाइँसराइ तीव्र छ। ती ठाउँमा डढेलो अनियन्त्रित बनेको छ,’ उनले भने।
नासाको फायर इन्फर्मेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टमको रियल टाइम डाटाअनुसार डढेलोबाट विश्व नै आक्रान्त बनेको छ। विशेषगरी दक्षिण एसिया, अफगानिस्तानदेखि थाइल्यान्डसम्मको भूभाग डढेलोबाट आक्रान्त देखिन्छन्।
लामो खडेरी र वन पैदावारको उपयोगमा आएको कमीले पनि डढेलोको फैलावट भयावह बनेको मिश्रले बताए। उनले बताएझैं वास्तवमा पछिल्लो समय डढेलोले चरित्र बदलेको छ।
उच्च तथा मध्य पहाडमा देखा परेको आन्तरिक बसाइँसराइको प्रवृत्ति पनि डढेलो फैलाउने कारक बनेको छ।
मध्य तथा उच्च पहाडका सामुदायिक वन र छेउछाउका ठाउँहरू घाँस काट्न र चरन क्षेत्रका रूपमा उपयोगमा आउँथे।
मानिसहरू सुविधाको खोजीका लागि बेँसी र सहरतिर केन्द्रित हुँदा सामुदायिक जंगल घाँस र सोत्तरले भरिएका छन्। जसका कारण सल्किएको डढेलो निभ्न गाह्रो भइरहेको छ। तीव्र रूपमा फैलिएको हावाहुरीले एक ठाउँको आगो सजिलै अर्को ठाउँमा पुर्याउँछ।
पूर्वी पहाडमा त दुई–तीन सय मिटर टाढासम्म हुरीले आगो नघाएको अनुभव पालिका प्रमुखहरू सुनाउँछन्।
घाँसपात, सुकेका रूख र झाडीले ढाकेको वन क्षेत्रमा सल्किएको डढेलोबाट हावाले आगोका गोला नै बोकेर बस्ती पस्न थालेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन्।
जसले पत्तै नपाइ बस्तीमा आगो फैलिइसक्ने र गावैँ खरानी हुने अवस्था आएको उनीहरूको भनाइ छ।
यो तर्कमा वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली पनि सहमत छन्।
उनले पछिल्लो समय ग्रामीण भेगमा वन क्षेत्र, खरबारी र खोरियाहरूको उपयोगमा कमी आउँदा जीवजन्तु सँगसँगै डढेलोसमेत बस्ती पस्ने भयावह स्थिति देखा परेको बताए।
विगतमा वन क्षेत्र र बस्तीका बीचका केही दुरी थियो। बस्तीसँगै बारी हुन्थ्यो। बारीको वरपरका भेग खोरियाका रूपमा उपयोगमा आउँथ्यो। त्यसको आसपास घाँसे चउर, खरबारीहरू हुन्थे। त्यसपछि वन क्षेत्र हुन्थ्यो। अहिले वन र बस्तीको यो सीमा मेटिँदै गएको छ। वन बस्तीसम्मै जोडिन आइपुगेकाले जंगलको आगो घरघर आइपुग्ने र बस्ती नै खरानी बन्ने अवस्था आएको उनले औंल्याए।
‘विगतमा जस्तो घाँस दाउरा गर्न वन जाने चलन हराइसकेको छ। पशुपालन गर्ने, खोरियाहरू खनजोत गर्नेहरू नहुँदा खरबारीका खरहरू त्यसै सुकेर गएका छन्। वनभित्र पनि घाँसपात, झाडी, बुट्यान, पतकरहरू थुप्रिएर रहेका छन्। ती अत्यन्तै प्रज्ज्वलनशील वस्तुका रूपमा रहेका छन्,’ ज्ञवालीले भने।
उनले वन क्षेत्रका त्यस्ता वस्तुहरू बिस्फोटक बन्न थालेको ज्ञवालीले बताए। उनले वन क्षेत्रको उपयोगलाई नवीन तरिकाले सोच्नुपर्ने खाँचो औंल्याए।
‘हिजोका दिनमा वन क्षेत्रबाट सुकेका रूख, घाँसपात, पतकर समुदायले हटाउँथ्यो। घाँसे भीर–पहरा र चउरका खर पनि समुदायले नै उपयोग गर्थ्यो। अहिले त्यसमा कमी आइसकेपछि त्यसको उपयोगबाट राज्यले सोच्नुपर्छ। वन क्षेत्रका ज्वलनशील पदार्थहरूलाई कसरी उपयोग गर्न सकिन्छ। निजी क्षेत्र र समुदायलाई उपयोग गर्न दिने हो कि, वन क्षेत्रका कच्चा पदार्थका आधारित उद्योगधन्दा खोल्ने दिशामा जानुपर्छ। वन क्षेत्रलाई घाँसपात, झाडीविहीन राख्न सरकारले योजना बनाउनुपर्छ,’ उनले भने।
डढेलो सम्बन्धी तथ्यांक वैज्ञानिक मिश्रले पनि डढेलो नियन्त्रण सम्बन्धी विगतका तौरतरिकाले उपयोगी हुन छाडेको बताए। पहिलो समुदायस्तरबाटै अग्नि रेखा बनाउने, वन पैदावारको उपयोगमा जोड दिने आदि काम हुन्थ्यो। जंगलमा आश्रित मानिसहरूको कमी थिएन।
बदलिँदो जीवनशैली र जंगलमा आश्रित मानिसहरूको कमीका कारण वनमा ज्वलनशील वस्तु थुप्रिन पुगेको उनले बताए।
‘प्रथमतः वनजंगलमा थुप्रिएका ज्वलनशील वस्तु हटाउन नै ध्यान दिनुपर्छ। वन पैदावारको उपयोगमा जोड दिने, त्यसमा समुदायको सहभागिता बढाउने हो भने डढेलोलाई जंगलमै सीमित राखेर नियन्त्रणमा लिन सकिन्छ,’ उनले भने।
आगलागीबाट १२१ को मृत्यु ४७९ घाइते
चालू आर्थिक वर्षमा आगलागीका ४ हजार ६७५ घटना भएका छन्। यस विपत्तिबाट १२१ जनाको मृत्यु भएको छ। ४७९ जना घाइते भएका छन्। २ जनाको अवस्था बेपत्ता छन्। यी आगलागीबाट २ हजार २८५ पशु चौपायामा क्षति पुगेको छ। १ हजार ७१५ घर र ९९१ गोठमा क्षति पुगेको छ। ३९ उद्योग, ८ विद्यालय, ९ वटा पुलमा क्षति पुगेको र आगलागी नियन्त्रणका लागि ३३ हजार ९८८ प्रहरी परिचालित भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
डढेलोको प्रकोप बढ्दै जाँदा पर्यावरणीय संकट उत्पन्न भएको छ नै, वायु पनि विषाक्त बनेको छ।
विपद् पोर्टलले जनाएअनुसार साँझ पौने ६ बजे ललितपुरको खुमलटारको वायुको गुणस्तर सबैभन्दा कमजोर छ। खुमलटारको वायु शुद्धता सूचकांक (एक्युआई) १८९.९५ छ। काठमाडौंको शंखपार्कको १७६.६५, पोखराको १६८.३६, मुगु राराको १६१.७४, काठमाडौंको कीर्तिपुरको १५५.५६, धनकुटाको १५४.१९, भरतपुरको एक्युआई १५१.२५ रहेको छ।
एक्युआई सयभन्दा माथिको वायुको गुणस्तर खराब मानिन्छ।