कञ्चनपुर ,
सरकारी निकायहरुको वेवास्थाका कारण ओझेलमा पर्दै आएको कञ्चनपुरको पुनर्वास स्थित बिचफाँटामा रहेको जैविक महत्वको सदावहार जलाशय प्यारा तालको पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानले यतिबेला धेरैको साथ समर्थन पाउन थालेको छ ।
विश्वमै दुर्लभ मानिएका जलचर प्राणीहरुको वासस्थान रहँदै आएको प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानलाई सार्थक बनाउन संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका बिधायन समितिका सभापती प्रदेश सभा सदस्य माननीय दिवान सिंह बिष्टले ताल परिसरमा कमलको फुलको प्रतिमा आफ्नो ब्यक्तिगत लगानीमा निर्माण गरिदिने स्वस्फुर्त घोषणा गरेका छन् ।
प्यारातालको पर्यटन बिकासका लागि नागरिक लगानीमा निर्माण गरिएको माछाको प्रतिमालाई प्रतिस्थापन कार्यक्रमका अबसरमा ताल परिसरमा पुगेका प्रदेशसभा सदस्य एवं बिधायन समितिका सभापति बिष्टले तालको जैविक पहिचानका रुपमा रहेको कमलको फूलको प्रतिमा निर्माण गरिदिने घोषणा गरेका हुन ।
जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट सदावहार जलाशय प्यारा तालको पर्यटन बिकासका लागि जनस्तर देखि सुरु भएको अभियानलाई सार्थक र सफल बनाउन तालको पहिचानलाई उजागर गर्दै पर्यटन बिकासमा टेवा पुगोस् भनेर ताल परिसरमा कमलको फुलको प्रतिमा आफुले ब्यक्तिगत लगानीमा निर्माण गरिदिने प्रदेशसभा सदस्य बिष्टले बताए । प्यारा तालको पर्यटन बिकासका लागि प्रदेश सरकारका तर्फबाट आबश्यक बजेट बियोजन गराउन समेत आफुले सक्दो सहयोग गर्ने प्रदेशसभा सदस्य बिष्टले बताए ।
तालको पर्यटन बिकासका लागि गत असार २६ देखि नागरिक स्तरबाट अभियान सुरु गरिएको थियो । नागरिकहरुको स्वस्फुर्त सहयोगले हालसम्म ताल परिसरमा सेल्फी स्पट , कछुवा , ओद , माछाको प्रतिमा र वाटर फाउन्टेनको जग निर्माणको कार्य सम्पन्न गरिएको छ ।
त्यस्तै ताल परिसरमा पर्यटकहरुको आकर्षण बढाउन गोही , मयुर , सिम कुखुराको प्रतिमा निर्माणाधीन रहेका छन् । त्यसै गरि जरायो र पाटे बाघको प्रतिमा निर्माण गर्ने तयारी सुरु गरिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताए ।