इसराइलले दक्षिणी गजाको एक विद्यालयमा हवाई आक्रमण गर्दा त्यहाँ कम्तिमा ३३ जनाको मृत्यु

२५ जेठ धनगढी
इसराइलले दक्षिणी गजाको एक विद्यालयमा हवाई आक्रमण गर्दा त्यहाँ कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

हवाइ आक्रमणमा परी मृत्यु हुनेमध्ये १४ बालबालिका र ९ महिला छन्।

समाचार संस्था एशोसियटेड प्रेसका अनुसार हमला भएको विद्यालय संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको विद्यालय हो।

अल सार्दी नाम गरिएको उक्त विद्यालयमा उत्तरी गजामा इसराइलको आक्रमणपछि भागेर गएका मानिसहरू बस्दै आएको बताइएको छ।

इसराइलले भने त्यहाँ हमासका लडाकु लुकेको सोही विद्यालयबाट गतिविधि सञ्चालन गरेकाले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ।

इसराइली सेनाका प्रवक्ता रेयर एडमिरल ड्यानियल हगारीले उक्त विद्यालयका तीन वटा कोठामा हमासका तीस जना लडाकु बसेको इन्टेलिजेन्स रिपोर्टपछि आक्रमण गरेको बताएका छन्।

तीमध्ये ९ जनाको मृत्यु भएको प्रवक्ता हगारीले बताएका छन्।

‘हामीले हाम्रो खुफिया रिपोर्टहरूका आधारमा आक्रमण गरेका हौं। त्यहाँ कुनै महिला र बालबच्चा थिएनन्,’ प्रवक्ता हगेरीलाई उद्धृत गर्दै एपीले लेखेको छ।

एक हप्ता अघि मात्रै इसराइलको आक्रमणबाट राफामा ४५ जनाको मृत्यु भएको थियो।

गजामा आक्रमण रोक्न विश्वका विभिन्न मुलुकहरूले आग्रह तथा चेतावनीका बाबजुद इसराइलले गजामा आक्रमण गरिरहेको छ।

केही अघि युद्धविरामका लागि पहलहरू भएपनि सहमति हुन सकेन। मध्यपूर्वी मुलुकहरू गजामा युद्ध रोक्नका लागि प्रयासरत छन्। अमेरिकाले काँध थापिदिएका कारण अन्य मुलुक र संयुक्त राष्ट्रसंघको समेत निर्देशन अवज्ञा गर्दै इसराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको छ।

अक्टोबरमा हमासको आक्रमणबाट इसराइलमा १० नेपालीसहित १२ सय जनाको मृत्यु भएको थियो।

त्यहाँबाट हमासले नेपालका विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

त्यसयता लगातार इसराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ। बीचमा केही दिन युद्धविराम भई हमासले १ सय जना भन्दा बढी बन्धक रिहा गरेको थियो।

इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म ३६ हजार हाराहारीमा प्यालेस्टिनीहरूको मृत्यु भएको एपीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply