धनगढी असार १८
कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार विद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजना गरी एसइईमा उत्तिर्ण विद्यार्थीहरुलाई अबिर तथा मालाले सम्मान गरिएको हो ।
एसइईमा सुदूरपश्चिम प्रदेशभरीमा ४ जिपिए ल्याउने ६ जना मध्येमा सत्यवतीका निर्मल ठगुन्ना पनि रहेका छन । ठगुन्नाले ४ जिपिए ल्याउँदा अन्य ७ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएका छन । उनिहरु सबैलाई विद्यालयका सञ्चालक विर बहादुर कडायतले सम्मानित गरेका थिए ।
त्यसपश्चात बोल्दै कडायतले विद्यार्थीका विभिन्न प्रतिभाहरु मध्ये पढाई लेखाई सबैभन्दा महत्वपुर्ण भएको बताए । उनले विद्यालयले विद्यार्थीका प्रतिभाहरु उजागर गर्ने तरिकाले नै काम गरिरहेको बताए । उनले खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुका साथसाथै पठनपाठनमा पनि सत्यवती अब्बल छ भन्ने विद्यार्थीहरुले देखाएको बताए ।
कडायतले सत्यवतीमा पढ्न आउने विद्यार्थीहरुलाई छात्रवृत्ति समेत व्यवस्था गरिएको बताए । उनले एसइईमा उत्कृष्ट ल्याएका विद्यार्थीहरुलाई भने सत्यवती ले निशुल्क पढाउने बताए । ‘ति विद्यार्थीहरु हाम्रै स्कुलमा पढ्दै हुनुहुन्छ, उनिहरुले एक रुपैया कुनै पनि कुराको तिर्नुपर्दैन, हामीले निशुल्क पढाउछौ’ उनले भने ‘त्यतिमात्रै नभई उनिहरुलाई किताब र एमबिबिएसको काठमाण्डौमा अनलाईन पढ्नका लागि लाग्ने रकम पनि विद्यालयले बेहोर्नेछ ।’
४ जिपिए ल्याएका निर्मल ठगुन्नाले विद्यालयबाट पाएको सम्मानले आफु हर्षित भएको बताए । उनले सबैको साथ र सहयोगले आफुलाई यहाँसम्म पुग्न प्रेरित गरेको बताए । उनले आगामी दिनहरुमा पढाइलाई यसरी नै अगाडी बढाउदै डाक्टर बन्ने लक्ष्य लिएको बताए ।