धनगढी असार २२
लगातारको बर्षाले बैतडीमा तीन घरमा क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका,पुचौडी नगरपालिका र मेलौली नगरपालिकामा एक एक घरमा क्षति भएको हो ।
वर्षापछि शुक्रबार दिउँसो दशरथचन्द नगरपािलका ९ गुवाडा स्थित मनध्वज रानाको दुईतले कच्ची घर भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उक्त घरमा बसोबास नभएकाले मानवीय क्षति भने भएको छैन् । मेलौली नगरपालिका २ टाकतोलास्थित सुशिल बहादुर चन्दको दुईतले कच्ची घरमा अबिरल वर्षाका कारण घरमा क्षति भएको छ । अबिरल वर्षापछि घरमा पानी पसेर पर्खाल भत्किएको हो । उता पुर्चौडी नगरपालिका नगरपालिका ९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति गरेको छ । रिउलेको निर्माणाधीन घरमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको हो । यसका साथै पहिरोकै कारण सोहि ठाउँका तीन घर जोखिममा परेका छन् । स्थानीय रिउले सार्की,झुसे सार्की र काशी सार्कीको घर पहिरोको उच्च जोखिममा परेका हुन् । जोखिममा रहेका तीनवटै घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा दुईदिनदेखि वर्षा भइरहेको छ । लगातार वर्षा भइरहेको सावधानी अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएको छ । जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा रोखेको छ ।