कैलालीमा ३ लाख ८३ हजार पशु चौपायालाई खोप लगाइयो

धनगढीः साउन ५
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले ३ लाख ८३ हजार ७ सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ । विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाई–गोरु, बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।

१ लाख ४१ हजार ६ सय गाई–गोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा १ लाख ९६ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाई–गोरुलाई लम्पीस्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा २ लाख ४१ हजार खोरेतविरुद्धको खोप, १ लाख ७० हजार पीपीआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किनविरुद्धको खोप र १ लाख रानीखेत खोप लगाउने लक्ष्य छ ।

‘हामीले पाँच लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेका थियौँ । तर लक्ष्यमा पुग्न सकिएन,’ उनले भने, ‘खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ । किसानको समय पनि मिल्नुपर्छ । यी यावत् कारणले खोप लक्ष्यमा पुग्न नसकेको हो ।’

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा. अवस्थीको भनाइ छ । आव २०७९÷८० मा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहका ५ लाख ५३ हजार तीन सय ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply