कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण

धनगढीः साउन ६
कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।

जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ।

अस्पतालको नाममा मण्डली
भवन निर्माणको काम करिब ९ महिनामा सिध्याएर असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले थाहा पाएका हुन।

साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर अस्पताल बनाउने भन्दै हाल चर्च चलाइएको चर्च नजिकै घर भएका विमल पाण्डेले बताए। स्थानीयलाई जानकारी नै नदिएर रातारात समुदायमा चर्च बनेको र यो बन्द गर्नुपर्ने हाम्रो माग छ।’ उनले भने, ‘इसाईको बसोबास नभएको समुदायमा यसरी झुक्याएर चर्च खोल्नु त भएन भन्ने हाम्रो माग छ।’

वडा अध्यक्षले समेत झुठो बोले
मोतिचोकमै घर भएका रणबहादुर बोहराले भवन बनाउँदा १० पटकसम्म गएर सोधपुछ गर्दा चर्च बन्न लागेको कुरा लुकाइएको बताएका छन्। उनले आर्थिक अवस्था र चेतनाको स्तर कमजोर भएका व्यक्तिलाई आर्थिक र स्वर्ग जाने प्रलोभन देखाएर धर्म परिवर्तन गर्न समुदायमा चर्च खोलिएकोले बन्द गर्नुपर्ने बताए।

यस्तै भवन बन्न लाग्दा छालाको अस्पताल बन्दैछ भनेर वडाअध्यक्ष मोति रानाले समेत झुठो बोलेको स्थानीय राजेन्द्र चन्दले गुनासो गरेका छन्। उनले भवन भन्दै गरेको देखेपछि काम गर्नेहरूले केही कुरा नबताएपछि वडामा बुझ्न जाँदा अध्यक्ष रानाले छालाको अस्पताल बन्ने लागेको भन्दै झुठो बोलेका हुन्।


चर्चमै छन् दुई जना कोरियन

चर्च नजिकै घर भएका खगेन्द्रनाथ योगीले भवन निर्माण गर्दा कामदारलाई समेत कुनै कुरा बोल्न नदिएको बताएका छन्। उनले स्थानीयले चासो राख्दा कम्पनी निर्माण हुन लागेको मात्रै आफूहरूलाई बताइएको दाबी गरेका छन्। भवन निर्माणको काम दिनमा भन्दा रातिको समय गरिएको योगीले बताए।
पार्किङ क्षेत्र छोडेर साढे चार कट्ठामा बनेको दुई तले भवन निर्माणको काम असोजमा सुरू गरेर जेठमा सकेको र २०८१ बैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गतेबाट इसाई संगति लाग्न थालेको छ।

चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएको छ। आफू १० वर्षदेखि नेपालमा बस्दै आएको तथा सहयोग गर्न चर्चमा बसेको ती कोरियन नागरिकले बताएका छन्। उनले चर्चमा सहयोग गर्न बसेको तर आफ्ना बारे थप कुरा सोध्न नपाउने बताएका छन्।
अर्को प्रयोजनमा जग्गा प्रयोग

लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गा धनी भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने समझदारीमा जग्गा लिजमा लिएर भवन निर्माण गरेको छ। लेट मेइनले मासिक २५ हजार भाडा तिरेर करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडामा चर्चलाई भवन प्रयोग गर्न दिएको पास्टर प्रशान्त राईले बताए।

१५ वर्षपछि भवनसमेत भण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिएको लेट मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ। कसैलाई कम्पनी कसैलाई छालाको अस्पताल स्थापना गर्ने भन्दै जनश्रमदानमा निर्माण गरिएको भवनमा नेपाल लाइफ वर्ड मिसनले धनगढी मण्डली नामक चर्चमा चहलपहल बढेपछि मात्रै स्थानीयले थाहा पाएका हुन्।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर प्रशान्त राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन्। तर इजाजत प्राप्त गरेको प्रमाण देखाउन भन्दा अर्को दिन देखाउने भन्दै पास्टर राई पन्छिए।
अस्पतालको लोगो दुरुपयोग

चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ। चर्चभित्र भुइँ तलामा भान्सा कोठा, बाल संगति कोठा, आमा संगति कोठा र पुरूष संगति कोठाहरू निर्माण गरिएको छ। पहिलो तलामा प्रवचन कक्ष र कोरियन नागरिकको बस्ने कोठा निर्माण गरिएको छ।

चर्चमा १० वर्षदेखि इसाईमा लागेकोदेखि भर्खरै इसाई स्वीकार गरेका व्यक्तिहरू समेत भेटिएका थिए। चर्च परिसरमै प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पार्किङ गरिएको थियो। कारको अगाडिको सिसामा अस्पताल जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ। इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply