कमला ह्यारिसजस्ता नेता नेपालमा छैनन्

धनगढीः साउन १५

आउँदो नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमोक्रेटिक दलले उपराष्ट्रपति कमलादेवी ह्यारिसलाई अगाडि सारेको छ। भारतीय मुलकी आमा र अफ्रिकी मुलका बुवाबाट जन्मिएकी कमला खासमा अमेरिकी आप्रवासी थिइन्। तर, उनले पाएको उचाइले भने विश्व अचम्मित छ। पक्कै पनि सानो संघर्षले त्यो उचाइमा पुगिनन् उनी।

ह्यारिसको जीवनपरक पुस्तक ‘द ट‍्रुथ वी होल्ड’ अघिल्लो वर्ष भदौमा ‘वी रिड’ प्रकाशन गृहले नेपाली संस्करण ‘सत्यको जगमा उभिएर’ बजारमा ल्याएको थियो, जसको अनुवाद गरेका थिए कवि, लेखक, अनुवादक विप्लव प्रतीकले। जीवनपरक पुस्तक अनुवाद गर्दा मिहिन अध्ययन त गर्नु नै पर्‍यो साथै जसको जीवनी हो उसलाई नजिकबाट चिन्नु पनि स्वभाविक हो। ह्यारिसले पाइरहेको संघर्ष र सफलताको राज एक अनुवादको आँखामा के होला? यही सेरोफेरोमा उनीसँगदेश सञ्चारले कुराकानी गरेको छ—

कमलादेवी ह्यारिसको जीवनपरक पुस्तक ‘द ट्रुथ वी होल्ड’लाई नेपालीमा अनुवाद गर्नुपर्छ भन्ने किन लाग्यो?

अनुवाद कर्म सजिलो काम चाहिँ होइन। नयाँ किताब लेखेजत्तिकै मेहनत लाग्छ। एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नका लागि दुवै भाषाको बारेमा जानकार त हुनु नै पर्‍यो। सामाजिक सांस्कृति र जीवनशैलीलगायत धेरै कुरामा ध्यान दिनु पर्दछ जस्तो लाग्छ। र कमला देवीको किताब अनुवाद गर्न भने आइलागेको काम हो। कमला ह्यारिसको अटोबायोग्राफी किताब अनुवाद गर्छु भनेर प्रकाशन गृहमा पुगेको चाहिँ होइन। यो सम्पादनको क्रममा अनुवादमा जोडिएको हुँ। यो किताब अनुवाद गर्ने सोच चाहिँ यो ‘वी रिड’का संस्थापक राजिवधर जोशीको थियो। यसमा म पहिला सम्पादनका लागि जोडिएको थिएँ। पर्वतको फलेबासमा बसेर यो किताबको सम्पादन गर्दै थिएँ। सम्पादन गर्दै जाँदा चित्त बुझेन। धेरै कुरा खड्किएको कुरा मैले राखेँ ।त्यसपछि राजिव जीले अनुवाद गर्न अनुरोध गर्नुभयो। करिब ११ महिना लगाएर मैले अनुवाद गरेको थिएँ।

जुन किताब अनुवाद गरिन्छ त्यो किताबलाई प्रगेल्नु त पर्छ नै, गतिलो भावनुवाद पनि गर्नै पर्‍यो। साथै पात्रमाथिको दृष्टिकोण पनि बन्दै जानु स्वभाविक हो। अहिले कमला राष्ट्रपतीय चुनावको दौडमा लागिरहँदा उनको व्यक्तित्व कस्तो हो भन्ने लाग्छ?

म भावानुवादको विरोधी हुँ। भावानुवाद होइन अनुवाद नै बलियो हुनुपर्छ भन्ने हो।

अब रह्यो कमला ह्यारिसको किताब। कमलाको जीवनको उतारचढाव अद्भूत छ। उनले चाहेर गरेको संघर्ष नभएर जीवन जिउँदै जाँदा आइपरेको घटनाक्रम नै सम्झनायोग्य छन्। साउथ इन्डियन आमा र जमैका बुवाबाट जन्मिएकी कमलाले आफ्नो लागि नभएर समाजका लागि गरेको संघर्ष अझै स्तुतियोग्य छन्। र राजनीतिमा लाग्दा कसैलाई नठगी हिँडेको किताबमा पाइन्छ। सबैको साथ र सहयोग लिन उनको कामको तौरतरिका समाजप्रति रह्यो। कुनै महत्वकांक्षा नबोकी हिँडेकी मानिस हो कमला ह्यारिस। सत्यको नजिक बसेर लेखिएको किताब हो ‘सत्यको जगमा उभिएर’।

नेपालका नेताहरुले पनि पढ्नु पर्ने किताब हो कमलाको जीवनी। कमलालाई पढ्दा केही सिकिन्छ। उनले आफ्नो जे काम गर्दा पनि ‘सत्यको जगमा उभिएर’ गरेको किताबमा पाइन्छ। करिबबाट उतारचढावबाट महसुस गरेकी छन्। अनपेक्षित सुख दुःख त छँदै छ साथै उनको आमाले सिकाएको पाठले उनलाई यस्तो बाटोमा डोर्‍याएको पाइन्छ कि जो उनले कहिल्यै सोचेकी थिइनन्।

राजनीतिमा लाग्दाखेरी झुटको साहरा नलिइकन, कुनै महत्वकांक्षा नलिइ हिँडेको पात्र हो कमला। सत्यले ड्राइभ गरेको मान्छे। नेपाली नेताले मात्रै होइन सबैले पढ्ने किताब हो। भ्रष्ट नहुन र सत्यको नजिक उभिन प्रेरित गराउँछ। किताब छापिएको समयसम्म सत्यको जगमा उभिएर गरेको रहेछ।

कमला ह्यारिसको किताब अनुवाद सकिएपछि यत्तिको पात्र नेपालमा को होलान् कहिले बन्लान् भन्ने अनुभूति भएको थियो?

यसमा पनि एउटा उत्तर छुटेछ। कमला ह्यारिसको राष्ट्रपति बन्ने सम्भावना कत्तिको छ? म अमेरिकी राजनीतिको बारेमा त्यति जानकार मान्छे होइन। न त मैले त्यहाँको समाजलाई मिहिन अध्ययन गरेको छु। बस्न त आठ नौ वर्ष अमेरिका बसेको हुँ तर राजनीति फरक कुरा हो र अनुमानको भरमा कमलाले गरेको राजनीतिमाथि कुरा गर्नु औचित्य हुँदैन। अब प्रश्नको जवाफमा आउँ।

नेपालमा देशका लागि सोच्ने नेताहरु छ जस्तो लाग्दैन। र छन् मानौं तर मूलधारका नेताले तिनलाई सही बाटो हिँड्न दिएकै छैनन्। कमला ह्यारिसजस्तो नेता छँदै छैनन्। उद्देश्य त्यो छँदै छैनन्। नेपाली कांग्रेसमा एकाध छन् कि भन्ने लाग्थ्यो त्यो पनि देख्दिँन। सायद मेरो अध्ययन नभएर हो कि।

अहिले सम्भावना बोकेका नेताहरु भ्यागुताको बीचमा कुकुर हुर्काइ भएको छ। कुकुरको हिँडाइ भ्यागुताजस्तो हुन पुगेको छ नेपाली राजनीतिमा नयाँ सम्भावना बोकेका नेताहरुको। हाम्रोजस्तो छन् त्यस्तै हुनुपर्छ भन्ने हो। जस्तो चलाएका छन् हामी त्यस्तै चल्नु पर्ने अवस्था छ।

अमेरिकामा आप्रवासीहरु त्यो उचाइमा कसरी पुग्न सक्दा रहेछन् र कमला ह्यारिसको पुस्तकको त्यो संघर्ष यात्रा कसरी वर्णन गरिएको छ?

आप्रावासी मूलको मानिस अमेरिकाको राष्ट्रपतिसम्म बन्नसक्छ भनेर लेखिएको किताब चाहिँ होइन सत्यको जगमा उभिएर। कमला ह्यारिसको एउटा यात्रा हो, जसले समाजका लागि केही न केही गर्न लागिन्। कमलाको आमा साउथ इन्डियनबाट पढ्न अमेरिका पुगिन्। जमैका देशको पुरुषसँग विवाह गरिन्। आप्रवासी भएर पनि आमाले कमलालाई राम्रो संस्कारमा हुर्काइन्। पढाइन्। शिक्षा दिइन्। कानुन पढाइन्। त्यसको प्रतिफल हो कमला ह्यारिस।

कमला ह्यारिसमा कुन सपनाले बास गर्‍यो। त्यो मार्ग कति सत्यको नजिक थियो। उनले जहिले पनि वकिल हुँदा कागजीमा लेखिएका धारा उपधारामा सीमित भइनन्। मानवीय संवेदनासँग नजिक थिइन्। म कसरी भए उपराष्ट्रपतिको उम्मेदवारको यात्रा होइन। बरु उनको संघर्षको कथा छ। उपन्यास पढ्दाको जस्तो मजा आउँछ। महाधिवक्ताले के के गर्न सक्दा रहेछन्।

अर्को मुख्य कुरा चाहिँ बाहिरबाट गएर बसेका मानिसहरुको भूमि हो अमेरिका। सबैको सहयोगले अमेरिका बनेको हो। एउटा व्यक्तिले बनेको होइन अमेरिका। भारतीय मूलको अमेरिकी मात्रै होइन, भोलि नेपाली मूलको अमेरिकी पनि त्यहाँ कमलाको स्थानमा पुग्न सक्छन्। र यो उनले किताबमा लेखेकी त छैनन् तर पुस्तकको उपकथाहरुले बुझ्न सकिन्छ।

एउटा सम्भावनाको कुरा गरौँ न, यदि कमला ह्यारिसले राष्ट्रपति पद जितिन् भने कस्तो सन्देश जाला?

कस्तो खालको सन्देश जाला? (एकछिन सोचमा) यो अमेरिकी राजनीतिको चासो हो। अमेरिकी जनताले निणय गर्ने कुरा हो। अमेरिकाले महिला राष्ट्रपति चाहिएको छ भन्ला। अब भावनामा बगेर पनि भएन। कमला ह्यारिस राष्ट्रपति भइन् भने त्यो अमेरिकाको लागि गर्व लाग्दो कुरा हो। जहाँसम्म लाग्छ मलाई उनी धेरै ठूलो महत्वकांक्षा नलिएर हिँडेकी मान्छे होइनन्। तर त्यहाँको जनताले राष्ट्रपतिमा जितायो भने विश्वलाई लाभ हुन सक्छ। अब कुन खालको लाभ हुन्छ त्यो समयले देखाउने कुरा हो।

अमेरिकी राष्ट्रपति बाइडेनले के भनेका थिए भने– बहादुर योद्धा तथा अमेरिकाकै सबैभन्दा उत्कृष्ट राजनितिज्ञ? तपाईंले किताब पढ्दा र बाइडेनको यो भनाइबीच कति न्याचित पाउनुहुन्छ?

उनले गरेको कामको त गुण गाउनबाहेक केही गर्न मन लाग्दैन। कमलाको संघर्षशील समयमा आप्रवासीलाई समायो भने बच्चालाई कहाँ आमालाई कहाँ पुराइदिन्थ्यो। उनले प्रजातान्त्रिक ठाउँमा ल्याउन एउटा सरकारले केसम्म गर्न सक्छ भन्ने काम गरेकी छन्। र परिवार छुटिनबाट बचाएकी छन्। अनेक सामाजिक काम गरेकी छन् उनले। क्यालिफोर्नियाका जनताका लागि उनले ठूलै काम गरेकी छन्। ट्रान्सजेन्डरका लागि, पोलुशनले सहरमा बस्नलायक नभएपछि त्यो सहरलाई जोगाउन उनले गरेको काम विश्वले स्मरण गर्न लायक छ। पुस्तकमा कामको सिलसिलेबर आउँछ तर श्रेय लिएकी छैनन्। प्रायः जीवनीमा धेरै जीवनी आफ्नै प्रशंसाले भरिएको हुन्छ तर उनले घटनाको बारेमा भनेकी छन्। स्कुल ड्रप आउट गर्ने बालबालिकालाई स्कुलमा फर्काउन गरेको पहलकदमी गज्जब छ। त्यसो हुँदा बाइडेनले जे भने त्यो सही हो।

कमला ह्यारिसले आफ्नो जीवनीपरक पुस्तकमा आमाले बाँचेको समाज र उनले बाँचेको समाजलाई कसरी प्रस्तुत गरेकी छन्?

छोरीको भन्दा आमाको संघर्ष स्वभाविक रुपमा बढी संघर्षपूर्ण हुन्छ नै। र उनले दक्षिण भारतको समाज पनि लेखेकी छन्। दक्षिण भारतको समाजको बारेमा, आमाको आमा र बुवाको बारेमा। कति कडा थियो अनुशासन, त्यस्तो कडा समाजमा पनि आमा र बज्यैले खेलेको भूमिका कस्तो थियो। सन् पचासका दशकमा त गाह्रो थियो होला। जहाजबाट जान सकिन्छ होला। आमाले अध्ययन गर्न खोजेको हो।

साउथ इन्डियन केटीले रिभोल्ट गरेको छ। उनीहरुको रिभोलेशन त पिँढी दरपिँढी चलेको रहेछ। कमला ह्यारिसको बायोग्राफी पढ्दा के लाग्छ भने मान्छेले काम एकध्यानले सत्यनजिक बसेर गर्नु पर्छ बरालिनु हुँदैन। उनको सफर त वकिलमै टुंगिनुपर्ने हो तर उनी हिँडिरहिन्। जस्तै एउटा शेर स्मरण गर्दछु— मान्छे भेटिँदै गए काम गर्दै गइन्।

कमला ह्यारिसमाथि कविता पनि लेख्नु भयो कि?

मैले उनीमाथि कविता त लेखिनँ तर महिलाहरुको बारेमा अर्थात युवतीमाथि चाहिँ लेखेको छु। ‘ड्रिम गर्ल’ नामको कविता थियो। त्यस्तो कविता वाचनको क्रममा मैले कमला ह्यारिसजस्तो महिला हरेक नारी हुनुपर्छ भन्ने हो। पेशा र कर्म फरक भए पनि कमला ह्यारिसजस्तो सत्य निकट भएर काम गर्न सके हरेक दिदीबहिनी सफल हुनेछन्।

तपाईं त ‘द पोइट आइडल’को निर्णायक पनि हुनुहुन्छ। अहिले नयाँ पुस्ताका धेरै कविहरु छन्। युवा कविहरु कस्ता विषयमा कविता लेख्न रुचि राख्दा रहेछन्, तपाईंको अनुभव सुनौँ न?

उनीहरुले जे कन्टेन्ट भेटे त्यही कन्टेन्टमा लेखिरहेका छन्। अधिकांशले वैदेशिक रोजगारमा गएका कथा लेख्छन्। समाजमा कविहरु दुई प्रकारका हुँदा रहेछन् भन्ने पछिल्लो मेरो अनुभवले ठान्छ। एउटा कविताको इज्जत लुट्ने कवि। अर्को कविताको इज्जत गर्ने कवि। दुवै तहका मान्छेहरु भेटेको छ।

पोइट आइडल आउँदा धेरै कविबाट विरोध भएको थियो। कुरा नै काटे– कविताको पनि आइडल हुन्छ र भन्ने कुरा भयो। तपाईं एक निर्णायक भएका नाताले के धारणा सुनाउनुहुन्छ?

मेरो सरोकारको विषय नै भएन। धेरै रियालिटी शोमा पोइट्रीको काम गर्छु भन्दा नराम्रो हुन्छ। गाउँगाउबाट कविता भन्ने हिम्मत राख्छन् भने त्यो त राम्रो हो नि। सारा मान्छेको पहुँचमा पुग्न सक्ने भयो पोइट आइडलको प्लेटफर्म। अहिले दोस्रो सिजनमा हामीले छानेको १४ वटा पोइट खतरनाक छन्। हामीले वर्षौँ संघर्ष गरेर यो प्लेटफर्म पाउन गाह्रो थियो तर अहिलेका युवाहरु गाउँगाउँबाट यो प्लेट फर्ममा आइपुगेका छन्। कविता भनेका छन्।कविता एउटाले लेख्ने होइन। हजारौँ कविहरु चाहिन्छन्। यदि कसैले विरोध गर्छन् भन्ने त्यो इर्ष्या हो। इर्ष्या गर्न दिनुपर्छ।

अहिले के लेखिरहनु भएको छ, आख्यान कहाँ पुग्यो?

बाहिर हुने कार्यक्रममा अलि बढी व्यस्त भएकोले आख्यानलाई निरन्तरता दिन पाएको छैन। केही आइडिया पनि छन्। अब लेख्छु। अलि लामो समय मिलाएर एकान्तबास बसेर आख्यानमा काम गर्नुपर्छ भन्ने छ। अनुवाद पनि गतिलो किताब र पैसा पनि गतिलो आयो भने गर्ने नत्र फिक्सनमै काम गर्ने हो। अँ आख्यान लेख्न सम्झाइदिएकोमा धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply