पोखरामा दुर्घटना भएको यतीको जहाजमा अन्तिम समय अत्तालिएकी को-पाइलट अञ्जु (अडिओ)

धनगढीः साउन १६
२०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुनु केही मिनटअघिको ‘ककपिट भ्वाइस रेकर्ड’ सार्वजनिक भएको छ।

उक्त अडिओमा पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडाबीच जहाज अवतरण हुने बेलाको संवाद सुन्न सकिन्छ। संवादको आखिरीमा को-पाइलट खतिवडा जहाजमा पावर आएन भन्दै अत्तालिएको सुनिन्छ। त्यसको केही सेकेन्डमै जहाज दुर्घटना हुन्छ, जसमा ७२ जनाको निधन भएको थियो।

जहाज दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो।

मंगलबार सार्वजनिक ककपिट भ्वाइस रेकर्ड सुनेपछि चालक दलकै कमजोरी भएको वरिष्ठ पाइलटहरूले सेतोपाटीलाई बताएका छन्।

आखिर के भएको थियो त्यो अन्तिम समय? के कारणले जहाज दुर्घटनाबाट जोगिन सकेन? भविष्यका लागि यसको शिक्षा के हुनसक्छ? यसबारे हामीले पाइलटहरूलाई

यो अडिओ सुनेका वरिष्ठ पाइलट कुमार पाण्डेले जहाजमा गलत लिभर तानिएका कारण ल्यान्डिङको समय इन्जिन बन्द भएको बताए।

‘जहाजमा दुइटा लिभर सँगसँगै हुन्छन्। स्पिड कन्ट्रोल गरेर जहाज ल्यान्डिङ गर्न फ्लाप्स तान्न खोजेको तर अर्कै लिभर तानेको देखिन्छ,’ उनले भने, ‘यसले दुवै इन्जिन सटडाउन भयो। पावर पुगेन। त्यसपछि को-पाइलट पावर आएन, पावर आएन भन्दै आत्तिएको सुनिन्छ।’

यसलाई मानवीय त्रुटि नै मानिने पाण्डेले बताए।

ककपिट रेकर्डमा सुनिएअनुसार पाइलट र को-पाइलटबीच कुराकानीमा राम्रो तालमेल नभएको पनि पाण्डेको भनाइ छ।

‘जति बेला पावर आएन भन्दै को-पाइलट आत्तिन्छिन् र इन्जिनमा समस्या आएको संकेत गर्छिन्, त्यही बेला पाइलट केसीले तत्काल प्रतिक्रिया दिएको भए र सही निर्णय गरेको भए विमान दुर्घटना हुनबाट जोगिन सक्थ्यो,’ उनले भने।

ककपिटको संवादले केही कुरा स्पष्टसँग देखाएको एक अर्का वरिष्ठ पाइलटले बताए।

‘को-पाइलटमा अनुभवको कमी, पाइलटले उनको कुरा ‘क्रस भेरिभाइ’ गर्न चुकेको र अन्तिम समय हतारिएका कारण दुर्घटना भएको देखिन्छ,’ उनले भने।

उनका अनुसार को-पाइलटको भरमा मात्र उडान गर्नु पाइलटको कमजोरी हो। पाइलट आफैले ‘क्रस भेरिफाइ’ गर्नुपर्ने उनको भनाइ छ।

‘जहाज अवतरण बेला पाइलटले चेकलिस्ट पढ्छन् र को-पाइलटले भेरिफाइ गर्छन्। यो जुनसुकै उडानमा हुन्छ,’ उनले भने, ‘यो जहाजमा क्रसचेक भेरिफाइ गरेको सुनिँदैन। त्यहाँ पनि कमजोरी देखिन्छ।’

अडिओअनुसार को-पाइलट खतिवडा रनवे र जहाज ल्यान्डमा बढी फोकस भएको सुनिने उनी बताउँछन्।

‘क्याप्टेनले भनेको कुरा सुनिरहेको छ तर प्रतिक्रिया दिएको देखिँदैन,’ उनले अगाडि भने, ‘हवाई नियमअनुसार पनि जहाज टेकअफदेखि ल्यान्ड नहुन्जेल ध्यानपूर्वक नियम पालना गर्नुपर्छ। त्यसो गरेको देखिँदैन।’

पाइलट र को-पाइलटले राम्रो समन्वय गरेको भए दुर्घटना नहुने उनको भनाइ छ।

‘अडिओ सुन्दा को-पाइलट केही अगाडिदेखि नै आत्तिरहेको सुनिन्छ। कमान्डमा हिँडेपछि कत्ति पनि डराउनुहुन्न,’ उनले भने, ‘यात्रा गर्दा कहिल्यै हतारिनु हुँदैन, त्यसले क्षति पुर्‍याउँछ।’

यस्ता घटना अन्य मुलुकमा पनि हुने वरिष्ठ पाइलट पाण्डेले बताए।

पाण्डेका अनुसार आजभन्दा १० वर्षअघि ताइवानमा जहाज अवतरणकै क्रममा एउटा इन्जिन फेल भएको थियो। पाइलटले अत्तालिएर चलिरहेको अर्को इन्जिन बन्द गरिदिँदा दुर्घटना भएको थियो।

‘बिग्रिएको इन्जिन बन्द गर्नुपर्ने तर चलिरहेको इन्जिन बन्द गरिदिए। अनि जहाज विमानस्थलको छेवैमा दुर्घटना भयो,’ उनले भने, ‘यस्ता घटना हुन्छन्। त्यसैले पाइलटहरू होसियार हुनुपर्छ। ककपिटमा बसेपछि सम्पूर्ण ध्यान त्यसैमा लगाउनुपर्छ।

साबार सेताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply