शुक्लाफाँटामा बाघको उपचार गरियो

धनगढीः साउन १८
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ कमलाशा टोलमा महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगाइएको छ।

निकुञ्जमा पुगेपछि बेहोस् अवस्थामा रहेको बाघलाई खोर बाहिर निकालेर स्वास्थ्य परीक्षणसँगै उपचार पनि गरिएको छ। करिब १२ देखि १४ वर्ष उमेर रहेको वयस्क अवस्थाको भाले बाघको शरीरमा चोट छ। अगाडिको दायाँ खुट्टाको दुईवटा नंग्रा छैनन्। पछाडिको पनि बायाँ खुट्टामा एउटा नंग्रा छैन। पछाडिको दायाँ खुट्टामा घाउ भएर किरा परेको अवस्था छ।

टोक्ने २ वटा दाँत हल्लिएका छन्। अन्य दाँत पनि खिइएका छन्। घाउ भएको ठाउँमा निकुञ्जका पशु चिकित्सक डा. आभाश श्रेष्ठले उपचार गरेका छन्। त्यसका लागि सुईसँगै औषधि लगाएको उनले बताए। त्यसपछि बाघलाई स्ट्रेचरको सहयोगमा गाडीमा रहेको खोरभित्र हालियो। खोरभित्र हालेपछि होसमा आउने एन्टिडार्टको सुई लगाइयो।

अहिले बाघ होसमा आइसकेको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। उनका अनुसार उक्त बाघ भारतीय क्षेत्रबाट आएको हुन सक्ने अनुमान छ। करिब २ सय किलोग्राम तौल रहेको बाघको लम्बाई २२४ सेन्टिमिटर छ। काँधको उचाई १२२ सेन्टिमिटर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply