धनगढीः साउन २३
धनगढी – कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदायका महिला दिदीबहिनीहरुले बुधबार महत्त्वपूर्ण पर्व तीज धुमधामका साथ मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् । असार शुक्ल पूर्णीमा देखि गाउँका सबै जना पायक पर्ने ठाउँमा सावनको डोला अर्थात् पिङ खेल्ने र श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै रानाथारु समुदायका दिदीबहिनीहरू पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् । तीजको दिन प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।
समुदाय विच महत्त्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना आदानप्रदान व्यक्त गर्दै कृष्णपुर नगर उपप्रमुख द्राेपती रानाले साउन महिनामा राना समुदायले मनाउने तीजको मौलिक संस्कृति रहेको बताउनु भयो । बुधबार विचवा गाउँमा तीज विशेष कार्यक्रम गरिएको छ । “संस्कृति बचामै, कुरीति हटामै । रानाथारुको निर्झल समाज बनामै ।।” भन्ने मूल नाकाका साथ कृष्णपुर नगरपालिका वडा नम्बर ८ विचवा गाउँमा रानाथारु तीज मिलन तथा सावनको डोला कार्यक्रम गरिएको कृष्णपुर ७ का वडाध्यक्ष घुम्न रानाले बताउनु भयो । कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा , उपप्रमुख द्राेपती राना सहित स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवी, पत्रकार तथा रानाथारु कलाकारहरूको समेत सहभागिता रहेको थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले अहिले सबै जातजाति र समुदायको पहुँचमा वृद्धि भएको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचन पछि गाउँघरमै अधिकार स्थापित हुँदा सबैले अपनत्व महसुस गर्न सक्ने वातावरण बनेको उल्लेख गर्नुभयो । तीज विशेष कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझले सामाजिक सद्भावका साथ समाजमा सकारात्मक परिवर्तन र समृद्ध कृष्णपुर बनाउन सबैलाई प्रेरणा मिलोस् भन्दै सम्पूर्ण रानाथारु समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । रानाथारु महिला समूहद्वारा आयोजित औपचारिक कार्यक्रमपछि विचवा नजिकै नदि किनारामा गएर रानाथारु महिलाहरूले पूजा अर्चना गरेका हुन । कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश खड्का, कृष्णपुर ७ का वडाध्यक्ष घुम्न राना, समाजसेवी प्रेणा पाण्डे रानाथारु समुदायका अगुवा पुरन राना, सारुखान राना सहित सोही गाउँका भलमन्सा, सञ्चारकर्मी, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी र रानाथारु समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।