कञ्चनपुरको बेलडाँडीमा निजी लगानीबाट लिटिल ग्रिन पार्क सञ्चालन

१८ असोज,
धनगढी – जिल्ला कञ्चनपुरको बेलडाँडीमा निजी लगानीबाट लिटिल ग्रिन पार्क सञ्चालन गरिएको छ । बेलडाँडीका व्यवसायी प्रेम गिरी र उहाँका छोरा ललित गिरीले निजी लगानीमा सञ्चालनमा ल्याएको लिटिल ग्रिन पार्कको बिहीबार घटस्थापनाको अवसर पारेर उद्घाटन गरिएको छ । गिरी परिवारले बेलडाँडी गाउँपालिका वडा नम्बर २ रौलेश्वर माविको उत्तर तिर हुलाकी राजमार्ग छेउमै लिटिल ग्रिन पार्क सञ्चालनमा ल्याएका हुन् ।गिरी परिवारको आफ्नै झण्डै १५ कट्टा जमिनमा बहु उपयोगी पार्क निर्माण गरिएको छ ।

पार्कको चारैतिर विभिन्न प्रजातिका फुलहरू र बोटबिरुवाहरू लगाइएको छ । आफ्नै भूमिमा केही उद्यम गर्न सकिन्छ भन्ने सोचका साथ ५/७ वर्ष अगाडिदेखि पार्क निर्माणका लागि बोटबिरुवा लगाउन थालेको र अहिले आएर पार्कको रूप लिएको सञ्चालक प्रेम गिरी बताउनु हुन्छ । त्यसैमा केही भौतिक संरचना समेत बनाइएको छ भने अझै केही ठुला भौतिक संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ ।
बिहीबार उद्घाटनको दिन ससाना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले पार्कको दृश्यावलोकन गर्नुभएको छ । गाउँघरमै उद्यम गर्ने चाहना बमोजिम सञ्चालनमा ल्याइएको उक्त पार्कमा हालसम्म रु. एक करोड रकम लगानी गरिसकेको सञ्चालक ललित गिरीको भनाइ छ । बाल उद्यान सहित मनोरञ्जनका लागि साना, मझौला तथा ठुला हल निर्माण गरेर विभिन्न पर्यटकीय, सांस्कृतिक, धार्मिक, सामाजिक कार्यक्रम तथा सभा समारोह गर्नका लागि सभा हल, स्वीमिङ्ग पुल र पार्किङ क्षेत्र निर्माणाधीन छन् । पार्कभित्र खाजा नास्ताका लागि कटेज निर्माण गरिएको छ । अवलोकनकर्ताहरूका लागि नास्ताको सुविधा गरिएको छ ।

निकट भविष्यमा हजारौँ मानिस अट्ने क्षमताको हल निर्माण गरेर विवाह, व्रतबन्ध सहितका कार्यक्रम गर्ने व्यवस्थापन गरिँदै छ । गाउँको पर्यापर्यटन प्रवर्द्धनदेखि मनोरञ्जन सहितको सामाजिक र व्यावसायिक सेवा दिने उद्देश्यले पार्क निर्माण गरिएको गिरी परिवारको भनाइ छ ।पार्क उद्घाटनकै दिन अवलोकनका लागि आउनु भएका अवलोकनकर्ताहरूले बेलडाँडीमा निजी लगानीमा सञ्चालन गरिएको पार्कले यहाँको पर्यटकीय, वातावरणीय तथा व्यावसायिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply