कैलालीको अत्तरिया बसपार्कमा पहाड जाने यात्रुको घुइँचो

२२ असोज धनगढी
कैलालीको अत्तरिया बसपार्कमा पहाड जाने यात्रुको घुइँचो लागेको छ । सुदूरपश्चिमका तराई लगायत विभिन्न ठाउँमा रोजगारीका लागि गएकाहरू दसैँ मनाउन घर फर्किन थालेपछि बसपार्कमा यात्रुको घुइँचो लागेको हो । दसैँलाई लक्षित गरेर विभिन्न यातायात व्यवसायीहरूले अतिरिक्त बस सञ्चालन गरेका भए पनि ती सवारी साधनले पनि यात्रुको चाप थेग्न सकेको छैन ।

अत्तरियाबाट दार्चुला जाँदै गरेका यात्रु दान सिंह धामीले दसैँको समयमा पहाड जानुपर्ने भए पनि टिकट पाउन मुस्किल भएको बताए । सोमबार साँझ अत्तरिया बसपार्कमा भेटिएका उनले टिकट मिलाइदिन्छु भने पनि टिकट नपाएको बताए । ‘टिकट मिलाइदिन्छु भनेका छन् । खै सिट छ की छैन ?’ उनले भने ‘सिट नभएर पछि मिलाउँछौ भनेका हुन । काउन्टरमा सिट फुल भएको ठहरियो अब के गर्नु यसो मिलाएर बस्नुपर्ला । जे जस्तो गरे पनि जानु त प¥यो ।’ पहलवानपुरमा बस्दै आएका उनले दसैँमा देवी देवताको पूजाका लागि पहाड जान लागेको बताए ।

बझाङ जाँदै गरेका शिव बहादुर विष्टले सिट पाए पनि बसमा भिडभाड नै भएको बताए । बरेलीबाट उपचार गरेर महेन्द्रनगरबाट बस चढेर आएका उनले बसमा सिट भन्दा बढी यात्रु चढाइएकाले भिडभाड भएको बताए । उनले भने ‘सामान्य समयको भन्दा बढी यात्रु हुँदा केही फरक त हुन्छ नै ।’

अत्तरियाबाट धादिङ जाँदै गरेका धर्म राज बाहाडाले पूर्वी रुटमा भने टिकट पाउन सहज नै भएको बताए । उनले अहिले पूर्व तर्फ जाने यात्रु कम नै हुने भएकाले टिकटका लागि त्यस्तो समस्या नभएको बताए । कामको सिलसिलामा अत्तरियामा बस्दै आएका उनले दसैँ मनाउन घर जान लागेको बताए ।

यातायात व्यवसायी दिनेश बहादुर खड्काले यात्रुको चाप बढेकाले अतिरिक्त गाडीको व्यवस्था गरेर यात्रुलाई पठाइरहेको बताए । उनले सिट भन्दा बढी टिकट काटेर नपठाउने गरेको बताए । ‘हामीले यात्रु बढी भएमा अतिरिक्त गाडीको व्यवस्था गरेर यात्रु पठाइरहेका छौ’ उनले भने ‘सिट भन्दा बढी टिकट काटेका छैनौ ।’ उनले विगतका वर्षको तुलनामा यस वर्ष बसपार्कमा बढी भिडभाड रहेको बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्लाको जक्सनका रूपमा रहेको अत्तरियामा महेन्द्रनगर, धनगढी, टीकापुर बसपार्कका बसहरू पनि रोकेर यात्रु चढाउने ओराल्ने गर्दछन् । जसले गर्दा बसपार्कमा निकै भिडभाड हुने गर्छन् । यात्रुको भिडभाडलाई मध्यनजर गरेर अत्तरिया बसपार्कमा प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ । बसपार्कमा अतिरिक्त प्रहरी पनि परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply