सुदूरपश्चिममा लामखुट्टे विरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

२ कात्तिक धनगढी
सुदूरपश्चिममा लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे अनुसन्धान गर्न सुरु गरिएको छ । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको अध्ययन–अनुसन्धान गर्न लागिएको हो ।

यी स्थानमा डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिन र लैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन गरिरहेको हो ।

स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य अधिकृत हेमराज जोशीले माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे सङ्कलन गरेर ल्याबमा लगेर परीक्षण गरिरहेको बताए ।

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उनले बताए । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विष्लेशण गरी विषादीले काम गरे नगरेको निर्क्योल गरिने अधिकृत जोशीले बताए।

उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply