२६ कात्तिक धनगढी
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सात दिने बसाइका लागि सुदूरपश्चिम आइपुगेका छन । उनी गृहजिल्लाका सँगै कैलालीमा केही कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आइपुगेका हुन । सुदूरपश्चिममा जात्राको रौनक छाएका बेला आएका उनको बिभिन्न मन्दिरहरुमा पनि दर्शन गर्ने कार्यक्रम रहेको छ ।
आइतबार धनगढी बिमानस्थलमा ओर्लिएका देउवा सडक मार्ग हुँदै डडेल्धुरा गएका छन ।
सभापति देउवा आज (सोमबार) डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने छन् । नेपाली कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँदका अनुसार देउवाले कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।
सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै धनगढीबाट डडेल्धुरा जाने क्रममा देउवा मातृ शोकमा परेका अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’को घरमा पुगेर समवेदना दिएका थिए । गृह जिल्ला डडेल्धुरा जाने क्रममा देउवाले युवा नेता आगोको घरमा पुगेर समवेदना दिएका हुन ।