धनगढी । धनगढी एफ.सी यूथ एकेडेमीले प्रशिक्षण थालेको छ । गत कार्तिक १३ गते औपचारिक रूपमा उद्घाटन भएको एकेडेमीले आइतबार देखी प्रशिक्षण थालेको हो ।
युवा फुटबल प्रतिभा पहिचान, प्रवर्द्धन र विकास गर्नको निम्ति धनगढी १२ जुगेडा स्थित मनकामना युवा क्लबको खेल मैदानमा धनगढी एफ.सी यूथ एकेडेमीले प्रशिक्षण थालेको छ ।
धनगढी एफ.सी यूथ एकेडेमीले १४ वर्ष मुनि उमेर समूहका फुटबल खेलाडीहरू लाई दुई जना फुटबल प्रक्षिकले साँझ ४ बजे देखी साढे छ बजे सम्म दैनिक प्रशिक्षण गर्ने छन् । जसका लागि सी लेभल क्याटेगोरीका फुटबल प्रशिक्षक दिपेश खड्का (डेभिड) लाई मुख्य प्रशिक्षक र डी लेभल क्याटेगोरीका फुटबल प्रशिक्षक बम बहादुर चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरिएको छ ।
प्रशिक्षणको पहिलो दिन उपस्थित प्रशिक्षार्थीहरू को प्रतिनिधित्व गर्दै सविन बोहरा र जयन्ती मल्लले फुटबल प्रशिक्षणको लागि आवश्यक पर्ने प्रशिक्षक तथा फुटबल लगायतका खेल सामाग्री उपलब्ध गराई निःशुल्क रूपमा प्रशिक्षणको व्यवस्थापन मिलाउने धनगढी एफ.सी यूथ एकेडेमीलाई धन्यवाद ज्ञापन गर्दै अब्बल खेलाडी बन्न हर सम्भव प्रयास रत रहने बताएका छन् ।
यस्तै, मनकामना युवा क्लब जुगेडाका अध्यक्ष कृष्ण राज पाण्डेयले प्रशिक्षणको पहिलो दिन ४० देखी ५० जना बाल-बालिकाहरूको उपस्थितिले राम्रो माहौल बनेको बताउँदै धनगढी एफ.सी यूथ एकेडेमीले सञ्चालन गरेको यो कार्यक्रमले स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अनुशासित र उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
गो ड्रिमर्स प्रा.लि.को स्वामित्व रहेको धनगढी एफ.सी, कैलाली जिल्ला फुटबल संघ र मनकामना युवा क्लबको त्रिपक्षीय साझेदारीमा सञ्चालनमा आएको धनगढी एफ.सी यूथ एकेडेमीले धनगढी उप-महानगरपालिका र समग्र सुदूरपश्चिम प्रदेशमा फुटबल प्रतिभा पहिचान र प्रवर्द्धन गर्नका लागि आधिकारिक रूपमा आफ्ना विभिन्न गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ ।