२० मङ्सिर धनगढी
कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आएका छन् ।
पाँच वर्षपहिलासम्म सामान्य निर्वाहमुखी खेतीपाती गर्दै आएका चौधरीले व्यावसायिक तरकारी खेती गर्न थालेपछि थोरै जमिनबाट धेरै आम्दानी लिन थालेका हुन् । उनले अहिले पाँच कट्ठामा लगाएको हरियो खुर्सानीको आम्दानी लिइरहेका छन् ।
हरियो खुर्सानीबाट मात्र उनले वार्षिक छ लाख रुपियाँ आम्दानी गरिरहेका छन् । उनले भने, “एक सयदेखि दुई सयसम्म प्रतिकिलोका दरले हाटबजारमा नै मेरो खुर्सानी खपत हुन्छ । पहिला पहिला व्यापारीलाई दिँदा खासै फाइदा हुन्थेन । हाटबजार लाग्न थालेपछि आफैँले बेच्ने गरेपछि फाइदा राम्रै हुने गरेको छ ।”
चौधरीले तीनरचार थरीका खुर्सानी हाटबजारमा बेच्न राख्छन् । बढी पिरो, कम पिरो र स्वादको मात्र गरी विभिन्न थरीका खुर्सानी ग्राहकले आफ्नो स्वाद अनुसार लैजाने गरेको उनी बताउँछन् । उनले हप्तामा गौरीगङ्गा नगरपालिकाको मसुरिया, सुखड र बर्दगोरिया गाउँपालिकाको बौनियामा लाग्ने हाटबजारमा खुर्सानी बेच्ने गरेको बताए ।
बर्सातको समयमा खुर्सानीले राम्रै मूल्य पाएको बताउँदै उनले दुई सयदेखि २५० रुपियाँसम्म प्रतिकिलोका दरले बेचेको बताए । एक सिजनमा १५ क्विन्टलसम्म हरियो खुर्सानी फलाएर बेच्ने गरेको चौधरीको भनाइ थियो ।
खुर्सानीसँगै उनको बारीमा टमाटर, फूलगोभी पनि बेच्नका लागि तयार हुँदै छ । चौधरीले व्यावसायिक तरकारी खेती गरेपछि उनको घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको बताए ।
उनले भने, “तरकारी खेतीकै आम्दानीले एउटा छोरो भारतमा इन्जिनियर पढ्दै छ, अर्को प्रहरीमा जागिरे छ ।” सरकारबाट कुनै अनुदान नलिएको बताउने उनले सरकारले दिने अनुदान किसानका लागि नभएको बताए ।
उनले भने, “हामी जस्ता किसानलाई अनुदान लिने फुर्सद हुँदैन, सरकारी अनुदानका लागि के के प्रक्रिया गर्नु पर्छ, त्यो समयमा हामी तरकारी लाउनमै व्यस्त हुन्छौँ । किसानका नाममा फुर्सद भएका मानिसले कागज मिलाएर अनुदान खान्छन् ।” गोरखापत्रबाट