२ पुस धनगढीः
कैलालीको गोदावरीमा परम्परागत रूपमा राखिने गोठे मलबाट बढी लाभ लिन खाल्डो सुधार अभियान सञ्चालन गरिएको छ । गोठे मलबाट बढी लाभ लिनका लागि गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि विकास सहकारीले खाल्डो सुधार अभियान सञ्चालन गरेको हो । एक वर्ष देखि सञ्चालन गरिएको अभियान अन्तरगत हाल सम्म २७२ खाल्डो सुधार गरिएका छन् । निकै मिहेनत गर्दा पनि मल राख्ने उचित ज्ञानको अभावमा आवश्यक मलबाट खाद्य तत्त्व नबन्ने भएकाले गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्ण विकले बताए । उनले सहकारी मार्फत एक जना कृषि प्राविधिक नियुक्त गरेर सहकारीका सदस्यहरूको गोठे मल खाल्डो सुधार कार्यक्रम सञ्चालन गरिएको बताए । उनले खाल्डो सुधार गर्दा किसानहरूले गोठे मलबाट बढी लाभ लिन सक्ने बताए ।
‘गोठे मलको खाल्डो व्यवस्थित नभएका कारण मल नकुहिने र मलमा हुनुपर्ने आवश्यक खाद्य तत्त्व बन्दैनन्’ उनले भने ‘नकुहिएको मल खेतमा प्रयोग गर्दा अन्न तथा तरकारी बालीमा उब्जनी बढाउनुको सट्टा खेतबारीमा धमिरा र किरा लाग्ने अवस्थाको अन्त्य गर्न किसानको मेहनतलाई उपलब्धि सँग जोड्न गोठे मलको खाल्डो सुधार अभियान सञ्चालन गरेका हौ ।’
उनले सहकारी मार्फत कृषि समूह बनाएर खाल्डो सुधारको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले खाल्डो सुधार सँगै तरकारी खेतीका कार्यक्रम पनि सञ्चालन गरिएको बताए । ‘ओलानीमा धान, गहुँको लागि उपयुक्त माटो छैन’ उनले भने ‘धान, गहुँको राम्रो उत्पादन नहुने भएकाले हामीले यहाँ तरकारी खेती गर्ने कार्यक्रम सञ्चालन गरेका छौ । अग्र्यानिक तरकारी उत्पादनका लागि गोठे मल खाल्डो सुधार कार्यक्रम सञ्चालन गरेका हौ ।’ उनले माटो बचाऔँ भन्ने अभियान अन्तरगत खाल्डो सुधार अभियान सञ्चालन गरिएको बताए ।
खाल्डो सुधार अभियानकी संयोजक बसन्ती विकले प्राविधिक सहित किसानहरूको घर–घरमा गएर खाल्डो सुधार गराउँदै आएको बताइन् । उनले खाल्डो सुधारको कार्यक्रममा सबै किसानलाई जोड्ने अभियान अहिले पनि निरन्तर जारी रहेको बताइन् । ‘गोठे मल खाल्डो सुधार अभियान पछि किसानहरूले मलबाट बढी लाभ लिन थालेका छन्’ उनले भनिन् ‘खुला ठाउँमा गोठे मल फाल्दा त्यसबाट गुणस्तरीय मल नबन्ने भएकाले किसानहरूको मिहेनत खेर जाने गरेको छ । हामीले खाल्डो सुधार अभियान अन्तरगत किसानहरूको आवश्यकता अनुसार घाम, पानीबाट सुरक्षित रहने गरी खाल्डो तयार पार्ने गरेका छौ ।’
हाल सहकारीले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) आर्थिक कोरिडोर कार्यालयको ५० प्रतिशत अनुदानमा सञ्चालन हुने गरी ६३ कट्ठामा खुर्सानी खेती कार्यक्रम पनि सञ्चालनका लागि सम्झौता गरेर कार्यान्वयनको चरणमा रहेको छ । यस्तै सहकारीले किसानलाई कृषि प्राविधिक ज्ञान दिनका लागि जियो कृषि सँग साझेदारी गरेर किसानहरूलाई सेवा दिँदै आएको छ । सहकारीका व्यवस्थापक गणेश विकले हाल सहकारी मार्फत मल, बीउ विजन पनि वितरण गर्दै आएको बताए । सहकारीले निकट भविष्यमा बेसार, लसुन खेती कार्यक्रम सँगै कृषि हाटबजार सञ्चालन गर्ने योजना राखेको जनाएको छ ।