धनगढीमा लागू औषध छ्यापछ्याप्ती, एकै दिन ८ जना पक्राउ

पुष २० धनगढी
कैलालीको धनगढीबाट प्रहरीले लागू औषध सहित एकै दिन ८ जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले धनगढीका छुट्टाछुट्टै स्थानबाट ८ जनालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका –२ भन्सार कार्यालय स्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का ३४ वर्षीय मोहन रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको हेण्डल भित्र लुकाइ छिपाई राखेको अवस्थामा ६ ग्राम १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबिच धनगढी उपमहानगरपालिका – २ त्रिनगर भन्सार चोक स्थित सुपप्र ०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शङ्का लागि चेकजाँच गर्दा धनगढी उपमहानगरपालिका –१३ का स्कुटर चालक २९ वर्षीय बाहाली राना र स्कुटरमा पछाडि सवार धनगढी उपमहानगरपालिका –६ का ३१ वर्षीय दीपक राना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका –१० घुइयाघाट स्थित धनगढी उपमहानगरपालिका – ७ का २५ वर्षीय प्राभुपन रानाले चलाएको सुपप्र ०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ राखेको अवस्थामा ८४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मोटरसाइकलमा सवार २ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसबिच धनगढी उपमहानगरपालिका – १३ झोलुङ्गे पुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ का २४ वर्षीय प्रदीप राना र वर्ष ३० को अनिल राना लागू औषध सहित पक्राउ परेका छन् । उनीहरूको साथबाट ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका – ३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका – ८ घर भई हाल धनगढी उपमहानगरपालिका – ३ केदार टोल स्थित नास्ता पसल सञ्चालन गर्दै आएका ४० वर्षीय रोशन महरा पक्राउ परेका छन् ।

उनले सञ्चालन गरेको नास्ता पसलमा खानतलासी गर्दा ६९ ग्राम ३४० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ र १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रहरीले कैलालीमा सञ्चालन गरेको कर्डन एण्ड स्विप अप्रेसन अन्तरगत धनगढीबाट ८ जना पक्राउ परेका हुन भने टीकापुरबाट थप २ जना पक्राउ परेका छन । टीकापुर नगरपालिका – २ आखाँ अस्पताल नजिक सडक खण्डबाट सोही ठाउँका २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटा पक्राउ परेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply