बेलडाँडीमा मापसे गरेका दुई युवाद्वारा घरमै गएर चक्कु प्रहार, एक युवा गम्भीर घाइते

माघ २० धनगढी
बेलडाँडी गाउँपालिकामा मादक पदार्थ सेवन गरेका दुई युवाले एक युवाको घरमै गएर चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे बेलडाँडी वडा नं. ४ बस्ने रमेश नेपाली (२०) र जनक खड्का (२०) ले बेलडाँडी वडा नं. २ बस्ने दिपेन्द्र बडवाल (२६) लाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार ती दुई युवा ग्रिनपार्क क्षेत्रमा मादक पदार्थ सेवन गरी निस्किएका थिए । स्थानीय स्रोतका अनुसार उनीहरू रौलेश्वर मावि नजिकै आइपुग्दा जथाभावी कराउँदै हिँडिरहेका थिए ।

बडवाल आफ्नो घर नजिकै रहेको स्थानमा थिए । उनले ती दुई युवालाई “अनावश्यक गालीगलौज नगर्नू, गाउँमा अशान्ति नगर्नू“ भनेर अनुरोध गरेका थिए । तर, रमेश नेपाली र जनक खड्का झन् आक्रोशित हुँदै बडवालको घरमै गए । बडवालले उनीहरूलाई सचेत गराएपछि रमेश नेपालीले खल्तीबाट चक्कु निकालेर अचानक उनको घाटीमा प्रहार गरे । चक्कुको गहिरो चोट लाग्दा बडवाल गम्भीर घाइते भए । घटनाका प्रत्यक्षदर्शीका अनुसार झगडाकै क्रममा रमेश नेपाली आफैं लडेर टाउकोमा सामान्य चोट लागेका थिए ।

चक्कु प्रहार भएपछि बडवालले चिच्याएपछि परिवारजन र छिमेकीहरू तुरुन्तै घटनास्थलमा पुगे । स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर ती दुई युवालाई नियन्त्रणमा लियो । गम्भीर घाइते बडवाललाई तुरुन्तै बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो । तर, अवस्था जटिल बन्दै गएकाले उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । प्रहरीका अनुसार रमेश नेपालीको समेत टाउकोमा चोट लागेकाले धनगढी उपचार पछि नियन्त्रणमा लिइएको छ । जनक खड्का भने प्रहरी नियन्त्रणमै थिए ।

घरमै पुगेर ज्यान लिने नियतले चक्कु प्रहार गरिएपछि स्थानीयहरूले गम्भीर आक्रोश व्यक्त गरेका छन् । गाउँलेहरूले अपराधीलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् । एक स्थानीय बासिन्दाले भने, “राति यत्रो समय नशामा मातेका मान्छेहरू यसरी चक्कु बोकेर हिंड्न पाउनु भनेको गाउँ नै असुरक्षित हुनु हो । अपराधीलाई कडा कारबाही हुनु पर्छ।“

घटनापछि प्रहरीले बडवाल परिवारको जाहेरीको आधारमा अनुसन्धान अघि बढाउने बताएको छ । तर, स्रोतका अनुसार आरोपित पक्षबाट राजनीतिक दबाब दिई घटनालाई कमजोर पार्न खोजिएको आशंका गरिएको छ । स्थानीयका अनुसार पिडक पक्षले आरोपीको उमेर घटाउन दबाब दिएको र कानुनी कारबाहीलाई हल्का पार्न दबाब दिइएको दाबी गरेका छन् ।

पीडित परिवार र स्थानीयहरूले अपराधीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले प्रशासनलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । यो घटनाले रौलेश्वर क्षेत्र त्रसित बनेको छ । स्थानीयहरूले सुरक्षा प्रवन्ध कडा बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।

बेलडाँडी प्रहरीले घटनाबारे गम्भीरताका साथ अनुसन्धान जारी राखेको बताएको छ । पीडितको जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाउने र दोषीमाथि कडा कारबाही हुने प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply