नेपालमा लसुनको अस्वाभाविक आयात

धनगढी, २१ माघ
नेपालमा सुकेको लसुनको अस्वाभाविक आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा ६ अर्ब १८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ५१ हजार ६०७ किलो लसुन आयात भएको छ ।

तर विभागले भारततर्फ चोरी निकासी गर्ने उद्देश्यले चीनबाट लसुनको अस्वाभाविक आयात भएको हुनसक्ने आशंका गरेको छ । जानकारहरूका अनुसार स्वदेशमै पनि उत्पादन हुने लसुन देशभित्र यति ठुलो परिमाणमा खपत हुन सक्ने अवस्था छैन । पछिल्लो समय भारतीय बजारमा लसुनको मूल्य प्रतिकिलो ३०० देखि ४०० भारतीय रुपैयाँसम्म रहेको छ । चीनमा लसुनको मूल्य नेपाली १५० रुपैयाँसम्म होलसेल मूल्य रहेको छ ।

चालु वर्षको ६ महिनाको अवधिमा अस्वाभाविक रूपमा लसुन आयात बढ्नुमा अवैध रूपमा निर्यात नै हुनसक्ने विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले बताए । चीनबाट आयात भएर अवैध रूपमा भारततर्फ निर्यात भएको आशंकामा अर्थ मन्त्रालयको निर्देशनमा विभागले यसबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

‘आयात देखिएको छ, निर्यात छैन । अस्वाभाविक रूपले आयात बढ्दा अवैध रूपमा निर्यात भएको हो कि भनेर अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘अनुसन्धान विभागले गर्ने नियमित खालकै हो । तर त्यसलाई अझै कडाइ गरेका छौँ ।’ उनले अगाडि भने, ‘औपचारिक च्यानलबाट पनि निर्यात भएको छैन । अवैध रूपमा निर्यात भएको पनि भेटिएको छैन । त्यसैले यही हो भन्नसक्ने अवस्था चाहिँ छैन ।’ उसो त सीमा क्षेत्रमा चिनियाँ लसुन बारम्बार बरामद हुनुले पनि अवैध निर्यात भएको आशंकामा बल पुगेको अधिकारीहरु बताउँछन् ।

विभागको तथ्यांक हेर्ने हो भने चालु वर्षमा आयात भएको लसुनमध्ये चीनबाट ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको ४ करोड ६९ लाख ३९ हजार १०७ किलो लसुन आयात भएको छ । अर्थात करिब सबैजसो लसुन चीनबाटै आयात भएको देखिन्छ । समग्रमा सरकारले लसुन आयातबाट १ अर्ब ५९ करोड ६५ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन पनि गरेको छ । तर, वैध माध्यमबाट ६ महिनाकै अवधिमा ९ लाख २० हजार रुपैयाँ बराबरको ३८३ किलो लसुन मात्रै निर्यात भएको देखिन्छ ।

गत वर्षको साउनदेखि पुससम्मकै अवधिमा ८७ करोड ८९ लाख ९० हजार रुपैयाँको ६७ लाख ७४ हजार ८५७ किलो लसुन आयात भएको थियो । गत वर्षको तुलनामा चालु वर्षको ६ महिनामा ७ गुणा भन्दा बढी मूल्यको लसुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

लसुनको पाँच वर्षको तथ्यांक

पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने बर्सेनि लसुन आयात बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ३१ करोड ५३ लाख रुपैयाँ बराबरको ३१ लाख १२ हजार ६२६ किलो लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । २०७७/७८ मा पनि आयात बढेको छ । उक्त वर्ष १ अर्ब ५ करोड ९६ लाख रुपैयाँको १ करोड ६० हजार ७०० किलो लसुन आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म लगातार १ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको देखिन्छ । त्यसयता दोब्बरले आयात बढेको तथ्यांकले देखाउँछ । अघिल्ला तीन वर्षको तुलनामा दोब्बरले आयात बढेर आर्थिक वर्ष २०८०/८१ मा दुई अर्बभन्दा बढीको लसुन आयात भएको छ ।

तर पछिल्लो ५ वर्षमा लसुन निर्यातको अवस्था हेर्ने हो भने आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ४४ हजार रुपैयाँको १ लाख २ हजार ५४६ किलो निर्यात भएको छ । २०७७/७८ र २०७८/७९ मा निर्यात शून्य छ । आर्थिक वर्ष २०७९/८० मा ६ लाख ९३ हजार रुपैयाँको ४ हजार ११४ लसुन निर्यात भएको छ । २०८०/८१ मा २ लाख १२ हजार रुपैयाँको १८४ किलो निर्यात भएको छ ।

कुन वर्ष कति आयो लसुन ?

स्वदेशी उत्पादनको अवस्था
तरकारीमा मसलाको रूपमा प्रयोग हुने लसुन औषधीको रुपमा समेत प्रयोग हुँदै आएको छ । नेपालमा भने वार्षिक रूपमा करिब ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । सो क्षेत्रफलबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९ सय ४३ क्षेत्रफलमा लसुन खेती हुँदा ७४ हजार ७ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा ७२ हजार ४ सय ९० मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply