प्रेम बिष्ट ( टाइगर )
अत्तरिया, सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सुरक्षाका लागि राखिएका हेड ऐनाहरू जीर्ण अवस्थामा पुगेका छन्। कतै सिसा फुटेका छन् त कतै राखिएका बोर्डहरू नै हराइसकेका छन्। तर, यस्ता समस्याप्रति न त ट्राफिक प्रहरी कार्यालयले ध्यान दिएको छ, न त सम्बन्धित निकायहरू नै चासो देखाइरहेका छन्।
यातायात सुरक्षाका लागि सडकका घुम्ती मोडहरूमा यातायात विभाग र ट्राफिक कार्यालयले यस्ता ऐनाहरू राखेका थिए। तर, अहिले ती ऐनाहरू अव्यवस्थित छन्, जसका कारण ती क्षेत्रहरू पुनः जोखिमपूर्ण बन्दै गएका छन्। सरकारले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरिरहे पनि यातायात व्यवस्थापनमा जिम्मेवार निकायले सडक सुरक्षाका आधारभूत संरचनामा ध्यान दिन नसक्दा दुर्घटनाको खतरा बढ्दै गएको छ।
ट्राफिक प्रहरीले यात्रुहरूको जाँचमा कडाइ गरिरहेको भए पनि सडक सुरक्षाका यस्ता महत्वपूर्ण उपकरणको नियमित निरीक्षण र मर्मतसम्भारमा ध्यान पुगेको छैन। सडक विभाग, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयबीच समन्वयको अभावका कारण यस्ता समस्याहरू नजरअन्दाज भइरहेका छन्।
सडक सुरक्षाका यस्ता पूर्वाधारहरूको संरक्षण तथा नियमित मर्मत सम्भारको जिम्मेवारी सम्बन्धित निकायको हो। तर, यस्ता संरचनाहरू जीर्ण हुँदै गइरहेका छन्, जसले सडक दुर्घटनाको जोखिम झनै बढाउने सम्भावना छ। अब सम्बन्धित निकायले तत्काल यसतर्फ ध्यान दिन जरुरी छ, नत्र सडक सुरक्षा सुधारको कुरा केवल नारामै सीमित हुनेछ।