अत्तरियामै बस्न थाल्यो सेना

माघ २८ धनगढी
नेपाली सेनाले आफ्नो दाबी गर्दै आएको अत्तरिया बजार सँग जोडिएको जग्गामा टहरा राखेर बस्न थालेको छ । नेपाली सेनाले आफ्नो भोगाधिकार दाबी गर्दै आए पनि गोदावरी नगरपालिका र स्थानीयले भोगचलन गर्दै आएको जग्गामा सेना पनि अस्थायी टहरा राखेर बस्न थालेको हो । तेघरीस्थित सेनाको देवी दल गणले अत्तरियाको पूर्व रोडमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सँगै आधा दर्जन अस्थायी टहरा बनाएर बस्न थालेको छ ।

उक्त ठाउँमा माओवादी सशस्त्र द्वन्द्व भएको बेला सेना बसेको थियो । पछि राजा ज्ञानेद्रको शाही शासनका बेला सेनाले उक्त जग्गा आफ्नो नाममा लिएको स्थानीयले बताउँदै आएका छन् । सेनाले पनि २०६१ सादेखि सो जग्गा आफ्नो भोगाधिकारमा लिएको बताउँदै आएको छ । सेनाले अत्तरियाको पहाड रोडमा रहेका बस्ती सहित बसपार्क, लामिताल क्षेत्रको १७ हेक्टर जमिन आफ्नो दाबी गर्दै आएको छ । सो क्षेत्रमा बसेको बस्तीका स्थानीयले भने २०३६ सालदेखि बस्दै आएको दाबी गर्दै आएका छन् ।

स्थानीय रूपक विकले अत्तरिया बजारमा बसेको सेनाले हाल स्थानीयलाई भोगचलन गरिरहेको जग्गामा घर बनाउन रोकेर धम्काउने गरेको बताए । ‘घर संरचना नबनाऊ भनेर अहिले धम्क्याउने काम गरिरहेका छन्’ उनले भने ‘२ महिना देखि अत्तरियामा टहरा राखेर बसिरहेका छन् ।’ उनले बर्दी सहित बस्तीमा आएर सेनाले धम्क्याउने गरेको बताए । उनले बजार क्षेत्रमै सेना बस्नु उपयुक्त नभएको बताए ।

सेनाको विवादकै कारण हाल सम्म अत्तरिया बसपार्क निर्माणको काम पनि रोकिएको नगरपालिकाले बताउँदै आएको छ । हाल नेपाली सेनाले बसपार्क पछाडि, पूर्व रोडको बास्कोटा जाने बाटोमा नेपाली सेनाको भोगाधिकार लेखिएको जमिन लेखिएको ब्यानर टाँसेको छ । बसपार्क निर्माण र लामितालको व्यवस्थापन गर्ने भन्दै सो जग्गा नगरपालिकाले आफ्नो मातहतमा ल्याउने भन्दै नगरप्रमुख वीरेन्द्र भट्ट काठमाण्डौं दौडधुप गर्दै आएका भएका छन् ।

तर, जग्गा नगरपालिकाको मातहत आउनुको सट्टा झन् सेना नै आएर बस्न थालेपछि झन् अन्यौलता थपिएको छ । अत्तरिया बसपार्क निर्माणका लागि गोदावरी नगरपालिकाले डिपिआर बनाएर काम गर्न खोज्दा नेपाली सेनाले अवरोध गरेको थियो । २०६८ सालमा निर्माण भएको अत्तरिया बसपार्क निर्माण भएको एक दशक पछि मात्रै नेपाली सेनाले आफ्नो भोगाधिकारमा रहेको भन्दै निर्माणको काम रोकेको थियो । यद्यपि अहिले पनि बसपार्क नगरपालिकाले ठेक्का मार्फत पार्किङ शुल्क उठाउँदै आम्दानी लिइरहेको छ भने बस काउन्टर लगायतका भौतिक संरचना पनि निर्माण गरेको छ । अत्तरिया बसपार्क पनि सेनाले २ वर्ष अघि आफ्नो दाबी गर्दै बोर्ड टाँसेको भए पनि स्थानीयको विरोधपछि बोर्ड हटाएको थियो ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले सेना जङ्गलमा बसेको भए पनि जग्गाका विषयमा कुनै कुरा नगरेको बताए । उनले बसपार्क नगरपालिका मातहतमै अहिले पनि सञ्चालनमा रहेको बताउँदै त्यसलाई नगर पालिकाको मातहतमा ल्याउनको लागि केन्द्रमा पहल जारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply