फागुन ४ धनगढी
धनगढी रंगशालामा आजदेखि तेस्रो सीसिएस कप अन्तरविद्यालय खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि’ भन्ने नारासहित सुरु भएको सो प्रतियोगितामा धनगढी, अत्तरिया र कञ्चानपुरका गरी १६ वटा टीमको सहभागिता रहेको सिसिए कलेजका अध्यक्ष हरि रेग्मीले जानकारी दिए ।
उक्त प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम खेलकुद विकास परिषदका सदस्य सचिव दीपक सिंहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रतियोगिताले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका साथै आत्मविश्वास, अनुशासन, सामाजिक एकता, मनोरञ्जन र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने विश्वास गरिएको व्यक्त गरे ।
विद्यालय तहबाट आयोजित यस प्रकारका प्रतियोगिताले खेलाडीलाई प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको फुटबल संघका जिल्ला अध्यक्ष अनिल मल्लले बताए ।
विजेता टिमले नगद ८५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ५ हजार,उत्कृष्ट गोलकर्तालाई २ हजार ५ सय , उत्कृष्ट गोलरक्षकलाई २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलमा ह्याट्रिक गर्ने खेलाडीलाई १ हजार नगद पुरस्कार दिइनेछ । शेरबहादुर विष्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्रमुख हरिप्रसाद जोशीले गरेका थिए ।