५ फागुन २०८१
काठमाडौं उपत्यकाको वायु अधिकांश दिनहरूमा अस्वस्थकर नै छ । वातावरण विभागका अनुसार, आइतबार बिहानदेखि साँझ ६ बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ १५० भन्दामाथि रह्यो ।
साँझ ६ बजे ललितपुरको भैँसेपाटीको एक्यूआई उपत्यकाकै सबैभन्दा धेरै १६४ थियो । पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा भने सबैभन्दा धेरै खुमलटारमा ७५.२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।
काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने विभागको पूर्वानुमान छ । “नेपालमा विशेषगरी मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास तथा मुटुका बिरामी, गर्भवती जस्ता व्यक्तिलाई बढी प्रभाव पार्दछ । यो अवधिमा सतर्कता अपनाउन अनुरोध छ,” विभागले आह्वान गरेको छ ।