फागुन १७ धनगढी
सुदूरपश्चिममा जडीबुटीको प्रचुर सम्भावना रहेको नारा राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय फोरममा पनि बिक्छ । जुन नारामा टेकेर धेरै योजना, प्रस्ताव बन्छन् र, करोडौँ खर्च पनि गरिन्छ। तर, यस प्रदेशले जडीबुटीबाट पाउनु पर्ने लाभ भने अझै लिन सकेको छैन । समुद्र सतहको १ सय ९ मिटरदेखि ७ हजार १ सय ३२ मिटरको भूभागमा फैलिएको यस प्रदेशमा थरी थरीका बहुमूल्य जडीबुटी पाइने भए पनि यसको सही सदुपयोग नहुँदा कुनै सडेर खेर जाँदै छन् भने कुनै अत्यधिक दोहन भएर लोप हुने अवस्थामा पुगेका छन् । केही सङ्कलन गरिने जडीबुटी पनि कच्चा पदार्थकै रूपमा निर्यात गरिदा न्यून मूल्यमा विक्री हुँदै आएका छन् ।
आधुनिक तरिकाले जडीबुटीको उपयोग हुन नसक्दा अझै पनि केही व्यक्तिहरूले परम्परागत शैलीमा थोरै भए पनि जडीबुटीबाट औषधी उत्पादन गर्दै जीविकोपार्जन गर्दै आएका छन् । तिनै मध्येका एक बाजुरा स्वामिकार्तिक गाउँपालिका पुरन रोकाया आफ्ना पुर्खाबाट सिपेको सीपको सदुपयोग गर्दै जडीबुटीबाट औषधी निर्माण गर्दै आएका छन् । उनले निकै बहुमूल्य जडीबुटीबाट औषधी उत्पादन गर्ने भए पनि व्यापार भने एउटा सानो झोलामा गर्दै भएका छन् । त्यो पनि गाउँ–गाउँ डुलाएर बिक्री गर्नुपर्ने बाध्यता छ ।
‘बुवा वैज्ञानिक (वैद्य) थिए मैले वहाँबाटै जडीबुटीबाट औषधी बनाउनु सिकेको हु’ कैलालीको अत्तरियामा झोलामा औषधी गर्दै भेटिएका रोकायाले भने ‘हिउँदमा औषधी ल्याएर तराई झर्छु, फागुन, चैत तिर औषधी विक्री गरेर पहाड उक्लिन्छु ।’ उनले राम्रो व्यापार भएमा दैनिक १५–१६ सयको औषधी बिक्री हुने गरेको बताए ।
उनले झोलामा सिलपाड्या, ग्यास्ट्रिक धुलो, पमदचाल, कालो नुन, रक्त चन्दन, कोयल चुख, सिलाजित लगायतका औषधी राखेर विक्री गर्ने गरेको बताए । उनी यी औषधी प्लास्टिकका थैलामा पोका बाँधेर बिक्री गर्दै आएका छन् ।
यी औषधीलाई लेभलिङ, प्याकेजिङ गरेर बजारमा बिक्री गर्न सकिने भए पनि उनले त्यसका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
‘पहिले देखि हामीले यसरी नै औषधी बेच्दै आएका छौ’ उनले भने ‘गलत गर्नु भएन । एकै औषधीमा लालच दिनु भएन । सूर्यको कसम मैले अहिले सम्म इमानदारिताका साथ काम गरेको छु ।’ उनले जडीबुटी गाउँको पाटनबाट सङ्कलन गरेर ओखलमा कुटेर तयार गर्ने गरेको बताए । साभार अत्तरिया अनलाइन