टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन हुँदै, प्रचण्डले उद्घाटन गर्ने

फागुन १८ धनगढी
नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन कैलालीको टीकापुरमा हुने भएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २० गते टीकापुरमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको मोर्चाले जनाएको छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए । त्यस्तै उपत्यका विशेष जिल्लाबाट समेत सम्मेलनमा प्रतिनिधि हुने उनले बताए ।

अध्यक्ष चौधरीले सम्मेलनको तयारीका काम करिब ९० प्रतिशत पूरा भएको बताए । ‘तयारीका काम तीव्र रुपमा भइरहेका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘थारु समुदायको पहिचान झल्कने गरी मञ्च निर्माण गर्दैछौँ ।’ मध्याह्न १२ बजे उद्घाटन तय गरिएको चौधरीले जानकारी दिए ।

थारु समुदायका पौराणिक कला, सामग्री प्रयोग गरेर थारु कला, संस्कृति झल्कने मञ्च निर्माण गरिने उनले बताए । उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, रानाथारु तथा कठरिया थारु समुदायको गित, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।

उद्घाटन समारोहमा कैलाली, कञ्चनपुर र बर्दियाबाट जनहभागिता पनि गराउने तयारी छ । उद्घाटनमा १८ हजार जनाभन्दा बढीको सहभागिता रहने गरी तयारी भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

‘टीकापुर घटनापछि थारु सेन्टिमेन्ट नैराश्यता छ । माओवादीले थारुका मुद्दा छोड्यो की भन्ने पनि कतिपयलाई परेको छ’ अध्यक्ष चौधरीले भने, ‘त्यसलाई चिर्न पनि थारु समुदायको बाहुल्यता भएको क्षेत्रमा राष्ट्रिय सम्मेलन गर्न लागेका हौँ ।’

सम्मेलनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्डसँगै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनाद्र्धन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरु सहभागी हुने मोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply