चैत २ धनगढी
यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि ऐश्वर्य बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले ३२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले एक कार्यक्रमकाबीच चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणा पत्रमा उद्यमशीलता विकासका लागि ‘आइडिया कम्पिटिसन’ आयोजना गर्दै उत्कृष्ट योजनालाई प्रारम्भिक अनुदान तथा परामर्शको व्यवस्था,विद्यार्थीहरूलाई दक्ष बनाउने विभिन्न सीप तथा तालिम सञ्चालन,निजी क्षेत्रसँग समन्वय गरी विद्यार्थीलाई अंशकालिक रोजगारीको व्यवस्था,शैक्षिक क्यालेण्डरको पालना गर्दै क्याम्पसमा हुने ढिलासुस्ती अन्त्य,तराई क्षेत्रका विद्यार्थीका लागि बसको व्यवस्था तथा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।
त्यस्तै,मनोवैज्ञानिक समस्याहरू तथा दुर्व्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम,विद्यार्थीहरूसँग प्रत्येक महिना अन्तरक्रिया कार्यक्रम,कृत्रिम बौद्धिकताको प्रभावकारिता र प्रयोगबारे विद्यार्थीहरूलाई सिकाउने,विद्यार्थीका समस्या समाधानका लागि सुझाव पेटिका तथा हेल्प डेस्कको व्यवस्था,आइडी कार्ड र लाइब्रेरी कार्डलाई मर्ज गरी चार वर्षसम्म प्रयोग गर्न मिल्ने एकीकृत कार्डको व्यवस्था, शैक्षिक, खेलकुद, सांस्कृतिक तथा शहीद परिवारका विद्यार्थीलाई छात्रवृत्ति, विद्यार्थी गुनासा व्यवस्थापनका लागि अनलाइन पोर्टलको व्यवस्था,क्याम्पस शुल्क निर्धारणमा पारदर्शिता कायम,पुस्तकालय बिहान ६ ः०० देखि बेलुकी ५ः ०० बजेसम्म खुला गर्न पहल गर्ने लगायतका कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।
ऐश्वर्यमा अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि विकाश विष्ट,उपसभापतिमा प्रमेश डम्मरपाल मगर,सचिवमा सुनिलप्रसाद जोशी, सहचिवमा शिखर खत्री र कोषाध्यक्षमा रोशनी खड्कालाई उम्मेदवार बनाएको छ । सदस्यहरूमा भृकुटी चन्द, लुविना थापा, दिलमाया चौधरी, खगेन्द्र राना, सुनिल कडायत, ललित क्षेडाल, करन पुन मगर र उत्तम गुरधामी रहेका छन् ।

