चैत २ धनगढी
कैलालीको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका मायाराम चौधरीले माछाका भुरा बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछाका भुरा बिक्रीबाट वार्षिक रु सात लाखबढी आम्दानी हुने गरेको बताए ।
खर्च कटाएर माछाका भुरा बिक्रीबाट वार्षिक रु पाँच लाख बचत हुने गरेको उनले बताए । उनले भने,–“माछाका भुरा उत्पादनमा खर्च कम लाग्छ । आम्दानी राम्रै हुन्छ । माछापालन गर्ने किसानले पोखरीमै आएर भुरा माछा लगेर जानुहुन्छ । बिक्री गर्न बाहिर जानु पर्दैन् ।”
उनले वार्षिक १४ क्विन्टलसम्म माछाका भुरा बिक्री गर्ने गरेको बताउँदै प्रतिकेजी रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको बताए ।
बिगत २५ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएको बताउँदै चौधरीले तीन वर्षदेखि माछाका भुरा उत्पादन गर्दै आएको बताए । लामो समयदेखि घर नजिकैको डेढ कठ्ठा जमीनमा पोखरी बनाएर माछापालन गर्दै आएका चौधरीले हाल १२ कठ्ठाको पोखरीमा भुरा उत्पादन गर्दै आएको बताए ।
उनले स्थानीय जाली सामुदायिक वनको प्राकृतिक पोखरी भाडामा लिएर भुरा उत्पादन गर्ने गरेको बताए । उनले भने,“माछा हुर्काएर बेच्नुभन्दा भुरा बिक्रीमा फाइदा देखेँ । त्यसैले सामुदायिक वनको पोखरी भाडामा लिएर भुरा उत्पादन गर्दैछु । वार्षिक रु सात हजार भाडा तिर्छु ।”
उनले बाहिरबाट साना भुरामाछा खरिद गरि ल्याएर केही समय आफ्नो पोखरीमा हुर्काएर बिक्री गर्ने गरेको बताए ।
अहिले पोखरीमा कमन,ग्रास,रोहु,नैनी,सिल्भरलगायत जातका माछाका भुरा रहेको उनले बताए । उनले वार्षिक चार क्विन्टलसम्म ठूला माछा समेत बिक्री गर्ने गरेको बताए । उनले व्यवसायमा दत्तचित्त भएरका काम गर्ने हो भने कामको खोजीमा भौतारिन नपर्ने बताए ।
