विकास सिंह महता,
चैत ३ धनगढी
विकास सिंह महता, कञ्चनपुर- सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवको पद पछिल्लो समय खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ। दीपकबहादुर सिंहको चार वर्षे कार्यकाल पूरा हुन लाग्दा, सत्तागठबन्धन दलको आन्तरिक प्रतिस्पर्धा र नयाँ नेतृत्वको आवश्यकता झल्किरहेको छ। खेलकुद क्षेत्रमा कार्यरत संघ–संस्था, प्रशिक्षक, खेलाडी, र खेलकुद प्रेमीहरूले अहिले नयाँ सदस्य सचिवको चयनलाई लिएर चासो देखाएका छन्।
प्रदेश खेलकुद ऐन २०७६ ले सदस्य सचिवको नियुक्ति प्रक्रिया राजनीतिक नियूक्तिको माध्यमबाट तय गरेको छ। यद्यपि संघीय खेलकुद ऐनले कार्यकारी पदको लागि खुल्ला प्रतिस्पर्धा राख्नुपर्ने प्रावधान छ। २०८१ फागुन २८ मा दीपक सिंहको कार्यकाल समाप्ति हुँदैछ, र मन्त्रीपरिषदले उनको नियुक्तिपत्र जारी गरेको मितिलाई नै आधिकारिक मिति मान्ने भनिएको छ।
सदस्य सचिवको नियुक्ति प्रक्रिया अनुसार, नयाँ नेतृत्वको चयनका लागि ५ प्रमुख योग्यता राखिएको छ। ३० वर्ष पुरा भइ ५५ वर्ष ननाघेको, नेपाली नागरिक र खेलकुद क्षेत्रमा १० वर्षको अनुभव भएको व्यक्ति नयाँ सदस्य सचिव बन्न योग्य ठहरिन्छ।
ज्ञानेन्द्र सिंहको खेलकुद यात्रा
कञ्चनपुरका ज्ञानेन्द्र सिंह एक लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय व्यक्ति हुन्। उनले सुदूरपश्चिमका विभिन्न खेलकुद संघ र संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। ज्ञानेन्द्र सिंह, जो कञ्चनपुर जिल्ला लङ्गटेनिस संघका अध्यक्ष, नेपाल तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष र कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष समेत रहेका छन्, एक कुशल नेतृत्वका रूपमा चिनिन्छन्।
उनको राजनीतिक यात्रासमेत उल्लेखनीय छ। उनी नेपाली कांग्रेस पार्टीसँग आबद्ध रहेको र हाल नेपाली कांग्रेस सुदूरपश्चिम कार्य समितीका सदस्य तथा युवा तथा खेलकुद विभागका संयोजकको जिम्मेवारीमा छन्।
ज्ञानेन्द्र सिंहले खेलकुदका विभिन्न संघहरूमा सल्लाहकारको रूपमा काम गर्दै, कञ्चनपुरको मात्र नभएर सुदूरपश्चिमको खेलकुद क्षेत्रमा सुधार ल्याउने प्रयास गरेका छन्। उनी भारत, रसिया, जर्मनी, चीन, फिनल्यान्ड र कतारको भ्रमण गरेर अन्तर्राष्ट्रिय अनुभव पनि समेटेका छन्।
ज्ञानेन्द्र सिंहका अनुभव र नेतृत्वले उनलाई सुदूरपश्चिम प्रदेशको खेलकुद परिषदको सदस्य सचिवका लागि एक उत्कृष्ट उम्मेदवार बनाएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा नयाँ नेतृत्वको आवश्यकता अहिले सशक्त रुपमा देखिन्छ। कञ्चनपुरका ज्ञानेन्द्र सिंहको नेतृत्वमा प्रदेश खेलकुद परिषद नयाँ दिशामा अघि बढ्न सक्छ भन्ने विश्वास खेलकुद समुदायमा बलियो बनिरहेको छ। आगामी सदस्य सचिवको चयनले प्रदेशका खेलकुद गतिविधिहरूको भविष्य तय गर्ने महत्वपूर्ण भूमिका खेल्ने छ।
