चैत ८ धनगढी
पूर्व पश्चिम राजमार्ग र भीमदत्त राजमार्गको सङ्गम स्थल कैलालीको अत्तरिया बजार क्षेत्रमा सडक नाला अस्तव्यस्त छन् । बजार क्षेत्रका नालाका ढक्कन फुटेको वर्षौँ बितिसकेको छ । हाल ढक्कन फुटेका नाला कतै घाँस उम्रिएर भरिएका छन् भने कतै फोहोरले भरिएका छन् । अत्तरियाको पहाड रोड र पूर्व रोडको नालामा घाँस उम्रिएर झाँगिएको भए पनि सफाइ गरिएको छैन । जसले गर्दा अत्तरियाको पहाड रोडका होटेलबाट निस्किएको फोहर पानी नालामै जमेर दुर्गन्धित भएका छन् ।
चोकमा गहिरो हुँदा ढलेको पानी जम्ने गरेकोमा हाल नालीको निकासद्धारमा घाँस उम्रिएर भरिए पछि झनै दुर्गन्ध फैलिएको छ । सडक किनारामा भेटिएका राकेश कोलीले नालामा उम्रिएको घाँस सफा नगरिँदा दुर्गन्ध फैलिएको बताए । उनले नालामा पुरै घाँस उमिएर भरिदा सम्म सफा नगरिनु सरकारको गम्भीर लापरबाही भएको बताए । ‘नालामा घाँस उम्रिएर सडक सम्मै पुगेको छ । यति हुँदा पनि नाला सफा नगरिनु गम्भीर लापरबाही हो’ उनले भने ‘सफा नगरिँदा नालाबाट सुगन्ध आइरहेको छ ।’
गोदावरीका जीवन चौधरीले अत्तरिया चोकमा नालाका ढक्कन फुटेको धेरै समय भए पनि मर्मत नगरिएको बताए । उनले बजार क्षेत्रमै ढक्कन बिनाका नालामा दुर्घटनाको समेत जोखिम रहेको बताए । ‘बजार क्षेत्रमै खुल्ला नालामा दुर्घटनाको जोखिम छ’ उनले भने ‘खुला नालामा फोहोर भरिएको हुँदा बजारको कुरूप बनेको छ ।’ उनले नाला सफा गरेर मर्मत गरिनुपर्ने बताए ।
अत्तरिया चोकमा निकास नहुँदा बर्सातमा पानी जम्ने गरेको छ । पानी जम्न थालेपछि केही वर्ष अघि चोकको हाइट बढाइएको भए पनि नाला भने मर्मत गरिएको छैन ।पछिल्लो समय नगरपालिकाले अत्तरिया चोक भित्र सजावट गरिरहेको भए पनि वर्षौँ देखि भताभुङ्ग सडक किनारका नाला मर्मर र सफा गर्न भने ध्यान दिएको छैन ।
अत्तरियाको महेन्द्रनगर रोडमा पनि नालाको अवस्था उस्तै छ । ढक्कन नभएका नाला फोहोरले भरिएका छन् । नगरपालिकाले गत वर्ष बर्सात सुरु हुन अघि नालाको फोहोर निकालेको भए पनि त्यसपछि सफा गरिएको छैन । खुल्ला नालामा फोहोर फाल्ने गरिँदा दुर्गन्धित बनेका छन् ।
नालाको अवस्था नाजुक हुँदा पनि स्थानीय सरकारले राष्ट्रिय राजमार्गमा पर्ने भन्दै संघ मार्फत मर्मत हुने भन्दै पन्छिँदै आएको छ भने संघले बजेट छुट्टाउने भन्दै हरेक वर्ष ठगिरहेको छ । अत्तरिया चोक वरिपरि करिब डेढ किलोमिटर नाला जताततै भत्किएका छन् । अत्तरियाको पहाड रोड, पूर्व रोड र महेन्द्रनगर रोडमा भत्किएका नाला मर्मत गर्न बजेट नभएको बताइँदै आए पनि सफा गर्न समेत बेवास्ता गरिँदै आएको छ ।
