चैत ९ धनगढी
धनगढी उपमहानगरपालिकाले पाँच वटा अत्याधुनिक शौचालय निर्माण गरेको छ । शहरी क्षेत्रमा आम नागरिकलाई शौच गर्न सजिलोको लागि सो अत्याधुनिक सौचालय निर्माण गरेको हो ।
सहरी क्षेत्रमा सार्वजनिक शौचालय पनि नभएको र निर्माण पश्चात नागरिकलाई सौच गर्न सजिलो हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । निर्माण गरिएका शौचालय बैशाखमा प्रयोगमा आउने छन् । करिब रु एक करोड ३८ लाख रुपियाँमा आधुनिक शौचालय निर्माण गरिएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दीजराज भट्टले जानकारी दिए । उनले एउटा शौचालय निर्माण गर्न २३ लाख रुपियाँ खर्च लागेको बताए । शौचालय स्थलमा खानेपानी उपलब्ध हुने वाटर एटीएम समेत राखिएको छ। पाँच वटा शौचालय धनगढी उपमहानगरपालिका र एक जाइकाले निर्माण गरेको हो ।
आधुनिक शौचालयमा सानो चमेना गृह सञ्चालन गर्नसक्ने सटर र एक जना बस्न सक्ने कोठासमेत बनाइएको छ। महिला, बालबालिका, पुरुष र फरक क्षमताका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी सुविधायुक्त शौचालय बनेको इन्जिनियर भट्टको भनाइ छ। ‘पहिलेका शौचालय जस्तो यी शौचालय रहँदैनन’, उनले भने,‘सरसफाइमा विशेष ध्यान दिइने छ ।’
उपमहानगरपालिकाले बनाएको पाँच वटा सार्वजनिक शौचालय आगामी बैशाखबाट प्रयोगमा आउने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय अगाडि जाइकाले निर्माण गरेको वाटर एटीएमसहितको शौचालय भने हस्तान्तरण हुन बाँकी रहेको छ।
