चैत १२ धनगढी –
भीमदत्त नगर विकास समितिको जग्गा कब्जा गरी सरकारी रकम खर्चेर अवैध निर्माण गरिएको सुदूरपश्चिम दलित छात्राबासको औचित्य सम्बन्धि दलित समुदायका अगुवाको छलफलमा प्रश्न उठेको छ । सुदूरपश्चिम विश्वविद्यालय स्तातक तह कानुन संकायमा अध्ययनरत तुलसी बिकले दलित समुदायको भएका कारण डेरा नपाएको विषयमा सोमबार दलित समुदायका अगुवाको छलफल भएको थियो । संयुक्त दलित संघर्ष समितिले गरेको छलफलमा सहभागीले छात्राबासको औचित्यबारे प्रश्न उठाएका थिए ।
छलफलमा विश्वविद्यालया अध्ययनरत विक सहित विद्यार्थीहरु सहभागी थिए । नेपाल दलित संघ कञ्चनपुरका सभापति गणेश नेपालीले दलित छात्राबासको विषयमा प्रश्न राखेका थिए ।
समस्या यस्तो छ, यहाँ एउटा छात्राबास पनि निर्माण गरिएको छ, त्यसको नाम नै दलित छात्राबास राखिएको छ, अहिले त्यस्को के कस्तो अवस्था छ,’ सभापति नेपालीले भने,‘नत्र भने त्यो किन बनाइएको हो ?’
छलफलमा सहभागी विश्वविद्यालयका विद्यार्थीले भने दलितको नाम राखेर बनाएको छात्राबासमा आफूहरु नबस्ने बताए । ‘हामी अरु मान्छेजस्तै समानता चाहेका हौ, यस्तो अपमान हुने हिसाबले कही पनि बस्दैनौ’ सहभागी विद्यार्थीले भने ।
छात्राबासका सचिव पवन नेपाली आफैं छलफलमा सहभागी थिए । काँग्रेस बेदकोट नगर समितिका सचिव नेपाली बेदकोट नगरपालिका कार्यपालिका सदस्य छन् । छात्राबास सम्बन्धि प्रश्न उठेपछि नेपाली मौन बसेका थिए ।
सुदूरपश्चिम दलित छात्राबास नामको संस्था गठन गरी दलिल समुदायका अगुवा हरिहर परियार, राजेन्द्र चुनारा लगायतले तत्कालिन भीमदत्त नगर विकास समितिको जग्गा कब्जा गरी सरकार बजेट खर्च गरी वन कार्यालय नजिक छात्राबास बनाएका छन् । सरकारका विभिन्न मन्त्रालय, साँसद विकास कोष र स्थानीय तहको गरी छात्राबास बनाउन एक करोड भन्दा बढी रकम खर्च भएको अगुवाहरुको दाबी छ । छात्राबासका अध्यक्ष परियार हाल भीमदत्त नगरपालिकाको कार्यपालिका सदस्य छन् । गत वर्ष संघ सरकारको २० लाख बजेटले छत ढलान गरिएपछि छात्राबासलाई लिएर चौतर्फी आलोचना भएको थियो । अवैध रुपमा निर्माण गरिएको भन्दै छात्राबास भत्काउनु पर्ने भन्दै नगर विकास समिति र छात्राबासमा कालो ब्यानर लगाईएको थियो । छात्राबासका अध्यक्ष परियार आफैं कार्यपालिका सदस्य भएकाले छात्राबास भत्काउनबाट जोगाएका थिए । भीमदत्त नगरपालिकाले नक्सा पास नभएको अवैध भवनको छत ढलानको योजना सम्झौता गरेको थियो ।