मानव बेचबिखन रोक्न चुनौती, प्रविधिको दुरुपयोगले बढ्यो झन् जोखिम

चैत १३ धनगढी
मानव बेचबिखन रोक्न झनै चुनौती थपिँदै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रिस्ट) को आयोजनामा धनगढीमा भएको संवाद कार्यक्रमका सहभागीहरूले प्रविधिको दुरुपयोग बढ्दै जाँदा मानव बेचबिखन रोक्न झनै चुनौती थपिएको बताएका हुन । नागरिक समाज गैसस महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराले मानव बेचबिखन विश्वभरिको बहु आयामिक विषय भएको बताउँदै सुदूरपश्चिममा खुला सीमा नाका भएका कारण मानव बेचबिखन बढी हुने गरेको बताए । उनले नेपालबाट भारतमा मात्रै नभएरर भारतबाट नेपाल हुँदै विश्वका अन्य देशमा पनि मानव बेचबिखन हुने गरेको बताए । उनले गैरसरकारी संस्थाहरूको तथ्याङ्क अनुसार कैलाली कञ्चनपुरको नाकाबाट मात्रै वार्षिक औसतमा २८० जना मानव बेचबिखन हुने गरेको बताए ।

‘खुला सीमा नाकाका कारण मानव बेचबिखन न्यूनीकरणको लागि एकदमै चुनौती रहेको छ’ उनले भने ‘खुला सीमामा नागरिक समाजका विभिन्न संघसस्थाले काम गरिरहेको भए पनि यी काममा राज्य पक्षले पनि विशेष भूमिका खेल्नुपर्ने हुन्छ ।’ उनले हाल सञ्चालनमा रहेको सेभ हाउसको अवस्थाका बारेमा पनि राज्यले चासो दिन आवश्यक रहेको बताए । उनले मानव बेचबिखनका मुद्दाको अनुसन्धानको क्रममा गरिने बकपत्र पटक पटक लिने गर्दा झन् पीडितलाई पीडा महसुस हुने गरेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम अध्यक्ष प्रकाश दत्त भट्टले मानव बेचबिखनको जोखिममा महिला, बालबालिका, अपाङ्गता भएकाहरू बढी रहेको बताए । उनले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को समयमा मानव बेचबिखनको दायरा पनि फरक भएको बताए । उनले सुदूरपश्चिममा भने हालसम्म मानव बेचबिखनको उल्लङ्घन भएको घटना आफूकहाँ नआएको बताए । उनले भने ‘प्रहरीमा मानव बेचबिखनका घटना दर्ता नभएमा हामीकहाँ आउने हो । तर, सुदूरपश्चिममा हालसम्म त्यस्तो केश हामीकहाँ आएको छैन ।’

उनले राष्ट्रिय मानव अधिकार आयोग विद्यार्थीहरू सँग सँगै काम गर्न तयार रहेको बताउँदै विद्यार्थीहरूलाई विद्यालय मार्फत राष्ट्रिय मानव अधिकार आयोगमा आएर छलफलमा सहभागिता जनाउन आग्रह गरे । उनले मानव बेचबिखनको एक ऐन संशोधनको प्रक्रियामा बढेको भए पनि अझै १२ ऐन संशोधन गर्न आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पदम राज पन्तले विश्वव्यापी रूपमा मान बेचबिखनको मुद्दा लागू औषध र हातहतियार पछि तेस्रो स्थानमा पर्ने जघन्य अपराध भएको बताए । कैलालीमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ४ वटा मुद्दा दर्ता भएको उनले बताए । उनले ४ वटै मुद्दाका प्रतिवादी फरार अवस्थामा रहेको बताउँदै ४ मध्ये ३ मुद्दा बालबालिका बेचबिखनका रहेको बताए । उनले भने ‘मानव अधिकारको मुद्दाको अनुसन्धान जटिल छ । यसको घटनास्थल भेट्न पनि समस्या छ । यसको अपराध देश भित्र मात्रै नभएर बाहिर पनि हुने भएकाले हालको संयन्त्रले त्यसको अनुसन्धान गर्न केही जटिलता छन् ।’

मानव बेचबिखनमा आफन्त, नातेदार चिने जानेको व्यक्ति नै बढी संलग्न हुने गरेको पाइएको उनले बताए । उनले पछिल्लो समय नेपाल भित्रै दोहरी साँझ, डान्सबार, स्पा, खाजा सेन्टरमा पनि बालबालिका राखेर यौन शोषण हुने गरेको बताए । उनले मानव बेचबिखनका मुद्दा प्रहरीको मानव बेचबिखन ब्युरो मार्फत विशेष प्राथमिकताका साथ हेरिने गरेको बताए । उनले मानव बेचबिखनका घटना प्रहरीको एकल प्रयासमा मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताए । उनले प्रहरीले गर्ने प्रहरी साझेदारी कार्यक्रममा पनि मानव बेचबिखनका कुरा समेट्दै आएको बताए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले गोदावरी नगरपालिकाले नगर स्तरीय मानव बेचबिखन समिति गठन गरेर काम गरिरहेको बताइन् । उनले मानव बेचबिखन रोक्नको लागि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताइन् । उनले सामाजिक सञ्जालको प्रयोगले हुन सक्ने घटना न्यूनीकरणको लागि सचेतनाका कार्यक्रममा जोड दिइएको बताइन् ।

मानव बेचबिखन सम्बन्धी कार्यविधिमा टेकेर काम गरिरहेको बताउँदै उनले बालबालिकालाई श्रममा लगाइएको बारेमा अनुगमन गर्दै आइरहेको बताइन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महराले सुदूरपश्चिम सरकारले मानव बेचबिखन रोक्ने कार्यविधि तयार गरेको बताइन् । उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर पनि मानव बेचबिखन बढेको बताइन् ।

‘मानव बेचबिखनका विषयमा हामी एकदमै चिन्तित छौ’ उनले भनिन् ‘हामी यसको रोकथामका लाग विभिन्न कार्यक्रम सञ्चालन गरेका छौ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि मानव बेचबिखन न्यूनीकरणको लागि प्रदेश सरकारले सशक्तीकरणका कार्यक्रम सञ्चालनमा छन् ।’

छलफल कार्यक्रममा सहभागी पत्रकार श्रवण देउवाले मानव बेचबिखनका घटना न्यूनीकरणका लागि समय सान्दर्भिक कार्यक्रम गर्न आवश्यक रहेको बताए । ‘अहिले हामी मानव बेचबिखन रोकथामका लागि सीमामा चेकजाँच गर्ने, कार्यक्रम गोष्ठी गर्ने गरिहरेका छौ’ उनले भने ‘अहिले प्रविधिको समयमा युवाहरू सामाजिक सञ्जालमा अभ्यस्त छन् । उनीहरूलाई सामाजिक सञ्जाल मार्फत नै सचेतनाका कार्यक्रममा जोड्न आवश्यक रहेको छ ।’ उनले मानव बेचबिखनका कार्यक्रम एकद्धार प्रणालीबाट गर्न सके अझै प्रभावकारी हुने बताए ।
पत्रकार टेकेन्द्र देउवाले कानुनी प्रावधान धेरै भए पनि नीतिगत समस्या र कार्यान्वयनमा समस्या रहेको बताए । शिक्षक पदम राज शर्माले विद्यालयको पाठ्यक्रममा नै मानव बेचबिखनका बारेमा जानकारी दिन आवश्यक रहेको बताइन् । उनले मानव बेचबिखनको लागि कानुन बनाउने मात्रै नभएर त्यसको पालनामा बढी जोड दिनुपर्ने बताए ।

फेडो कैलालीकी अध्यक्ष छबिना सुनारले महिला भित्र पनि दलित महिलाको अवस्था धेरै नाजुक भएको बताउँदै उनीहरू बढी जोखिममा परेको बताइन । दलित, अल्पसङ्ख्यक, पछाडि परेका महिलालाई लक्षित गरी कार्यक्रम गर्नुपर्ने उनले बताइन् । एन्सेककी जिल्ला प्रतिनिधि मैयामत चौधरीले अहिले महिला मात्रै नभएर पुरुष पनि मानव बेचबिखनमा पर्ने गरेको बताइन ।

मानव बेचबिखन विरुद्धको पैरवी समूहकी मनीषा पाण्डेले मानव बेचबिखनका घटना रोक्नका लागि युवा नै परिचालन गर्नुपर्ने बताइन् । उनले युवा क्लब खोलेर मात्रै नहुने भएकाले युवाहरूलाई छलफल, नीति निर्माणमा सहभागी गराउन आवश्यक रहेको बताइन् । युवाहरूलाई पछाडि कुर्सीमा बसाउने काम मात्रै भएको बताउँदै उनले त्यसरी काम गर्दा युवा अगाडि बढ्न नसक्ने बताइन् । साभार अत्तरिया अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply