चैत १५ धनगढी
दार्चुलामा सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव– २०८१ सुरु भएको छ । दार्चुला उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । जिल्लामा उत्पादित कृषिजन्य बस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।
महोत्सवमा जिल्लाका विकट क्षेत्रमा उत्पादन हुने फापर, उवा, जिम्बु, नप्पल तथा आलुका परिकारहरुको स्वाद लिन पाईने संघका अध्यक्ष सुरेश सिँह थापाले जानकारी दिए । उनका अनुसार महोत्सवमा जिल्लाका अन्य स्थानीय तहका उत्पादनहरु पनि प्रर्दशन तथा प्रर्वद्धन गरिनेछ ।
‘अपिनाम्पा, मालिकार्जुन, चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन, कला संस्कृति संरक्षण र प्रवर्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको महाकाली नगरपालिका –४ बिरेन्द्र वनस्थित नेपाली सेनाको मैदानमा शुक्रबार औपचारिक कार्यक्रमविच उद्घाटन गरिएको छ । महोत्सवको संविधानसभा पूर्वसदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन ।
चैत २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा दार्चुला जिल्लाको विविधता झल्किने साँस्कृतिक झाँकी, ब्याँसी सौका समुदायको विशिष्ट पहिरन, संस्कृति र भेषभुषा, दुहुँ, मार्मा, लेकम र ब्याँस क्षेत्रको रहन–सहन खानाका परिकारको प्रदर्शनी रहनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । अत्तरिया अनलाइन