चैत १७ धनगढी
एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको आन्दोलनका क्रममा हत्या भएपछि पत्रकारहरू आन्दोलित भएका छन् । पत्रकारको हत्या तथा संचार गृहमा गरिएको आगजनी विरुद्ध पत्रकारहरूले विरोध प्रदर्शन सँगै विभिन्न विरोधका कार्यक्रम घोषणा गरेका छन् । घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गर्दै शनिवार कैलालीमा पनि पत्रकारले विरोध प्रदर्शन गरेका छन् ।
धनगढी चौराहा देखि बसपार्क हुँदै फेरी चौराहा सम्म विरोध ¥याली निकालेका पत्रकारले चौराहामा कोष सभाको आयोजना गरेका थिए ।
कोष सभालाई सम्बोधन गर्दै पत्रकार मनमोहन स्वारले पत्रकारमाथि विभिन्न तरिकाले आक्रमण बढेको बताए । उनले पछिल्लो पटकको घटना निकै बीभत्स भएको बताए । ‘अव पटक पटक कुनै पनि बहानामा हुने अराजकता सहन सकिँदैन । कुनै पनि बहानामा पत्रकार माथि गर्ने आक्रमणको विरोध र प्रतिकार गर्नुपर्छ’ उनले भने ‘अहिलेको जसरी बीभत्स ढङ्गले पत्रकार माथि यसअघि कहिले पनि आक्रमण भएको थिएन । घटना एकदमै निन्दनीय छ । यसलाई सामान्य रूपमा लिन सकिँदैन ।’
उनले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गरिनुपर्ने बताए । उनले फेरी एक पटक अभिव्यक्ति स्वतन्त्रामाथी धावा बोल्ने प्रयास भएकाले यसलाई रोक्नुपर्ने बताए ।
पत्रकार मीन बमले शुक्रवार भएको घटनाले निरङ्कुश राजतन्त्रकै शैलीमा देखिएको बताए । उनले निरङ्कुश राजतन्त्रको समयमा पनि पहिलो तारगेटमा पत्रकार परेको बताउँदै अहिले पनि सोही सिनारी दोहरिएको बताए । ‘राजाले आफ्नो शासनकालमा पत्रकार माथि धावा बोल्ने, सेन्सर लगाउने, सेना लगाउने काम गरेको थियो । अहिले सोही सिनारी दोहरियो’ उनले भने ‘यस प्रति खेद प्रकट गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिन चाहन्छौ । हामी नागरिकका आवाज उठाउन ज्यान हत्केलामा राखेर अघि बढेका छौ । हामी यी कुराले नडराई अघि बढ्न आवश्यक छ ।’
इन्सेकका सुदूरपश्चिम अध्यक्ष खडक जोशीले पत्रकार सडकमा आउने अवस्था आउनु दुर्भाग्य भएको बताए । उनले लोकतन्त्रमाथि कुठाराघात भएकाले यसको रक्षाका लागि सबैले लाग्नुपर्ने बताए । उनले सुनियोजित तरिकाले हत्या गरेर अराजकता फैलाउने काम गरिएको बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दीर्घ उपाध्यायले सरकारको सुरक्षा कमजोरीका कारण घटना हुन पुगेको बताए । उनले घटनामा जो संलग्न भए पनि कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए । उनले राजाको पालामा पनि सडकमा पुगेको बताउँदै पुनः राजावादीले त्यस्तै अवस्था सृजना गरेको बताए । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले आन्दोलनका क्रममा पत्रकार निशानामा पर्ने गरेको बताए ।
‘यो भन्दा पहिला पनि व्यवस्था परिवर्तनको आन्दोलनमा पत्रकार माथि आक्रमण भए । अहिले पनि सोही क्रम दोहरियो’ उनले भने ‘सबै क्षेत्रबाट किन पत्रकार माथि आक्रमण हुन्छ । हामी सञ्चारकर्मीले सोच्न जरुरी छ । हामी जनताका पक्षका बोल्छौ, निमुखाका पक्षमा बोल्छौ, आन्दोलन गरिरहेका पक्षमा बोल्छौ । तर आन्दोलनकर्मी लगायतका क्षेत्रबाट पत्रकारलाई त्यति राम्रो हेरिएको छैन ।’
उनले पत्रकारले ज्यानको सुरक्षाकै लागि पटक पटक आवाज उठाउनु पर्ने बाध्यता रहेको बताए । उनले भने ‘विगत देखि हामी पत्रकारको सुरक्षा र ज्यानको सुरक्षाका लागि आन्दोलन गरिरहेका छौ यो अवस्था कहिले सम्म रहन्छ ?’ उनले राज्यले प्रेस स्वतन्त्रकाको लागि वातावरण बनाउनु पर्ने बताए । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले कल्पना गर्न पनि नसकिने गरी जिउँदै भिडियो खिचिरहेको पत्रकारलाई जलाइएको घटना निन्दनीय भएको बताए । उनले दोषीमाथि राज्यले कडा कारबाही गर्नुपर्ने बताए । उनले शनिवार ७० औँ नेपाल पत्रकार महासंघको स्थापना दिवसलाई शोक दिवसका रूपमा मनाउनु पर्ने अवस्था आएको बताए । शनिवार धनगढी सँगै सुखड, लम्की र टीकापुरमा पनि विरोधका कार्यक्रम गरिएका छन् ।
आन्दोलनको घोषणा
यसैबिच नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी कार्यस्थलमा खटिएका पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो ।
महासंघले शुक्रबार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । घटनाको विरोधमा महासंघले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वान गरेको छ ।
त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।